झुट्टा बिजक जारी गर्न मजदुरको नाममा कम्पनी

ज्याला मजदुरी गर्ने अनपढ व्यक्तिहरूलाई प्रलोभनमा पारी निजहरूको नाममा कम्पनी खोली त्यस्ता कम्पनीबाट वास्तविक रूपमा मालवस्तुको खरिद बिक्री कारोबार नै नगरी झुट्टा बिजक जारी गरी राजस्व चुहावट गर्ने

परमेश्वर साह र जय किशोर साहविरुद्ध पौने दुई अर्ब राजस्व छलीको अभियोगमा मुद्दा दायर

काठमाडौं । परमेश्वर साह र जयकिशोर साहले रमेश मुखियाको नाममा डिजे प्रोलिंक ट्रेड प्रालि सञ्चालन गर्दछन् । वास्तविक लगानी साहको भए पनि कम्पनी भने मुखियाको नाममा दर्ता गरिदिन्छन् ।

मुखिया भने वास्तविक सञ्चालक नभए उनी त्यही कम्पनीमा काम गर्ने कामदार हुन् । दुवैले मुखियालाई सञ्चालक र आपूmहरूलाई कामदारका रूपमा प्रस्तुत गर्दै कम्पनीको नाममा रहेको बैंक खातामा दुवै पक्षको नाम राख्दछन् । तर, एकजनाको मात्र दस्तखतमा रकम निकाल्न मिल्ने गरी खाता सञ्चालन गर्दछन् । यस्तै, क्रम चलिरहेको हुन्छ, तर माघ–३ गते परमेश्वर साह पक्राउ पर्दछन् । उनलाई राजस्व अनुसन्धान विभागले पक्राउ गर्दछ ।

मूल्य अभिवृद्धि करको झुट्टा तथा नक्कली कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा पक्राउ पर्दछन् । उनको बयानपछि दोस्रो दिन अर्थात् माघ–४ गते जय किशोर साहलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्दछ । अनुसन्धान सुरु गरेपछि विभाग नै उनीहरूको ठग्ने शैलीबाट अचम्ममा पर्दछ ।

उनीहरूले निम्नस्तरका मजदुरहरूलाई आर्थिक प्रलोभनमा पारी तिनीहरूको नाममा फर्म कम्पनी दर्ता गराइ तिनीहरूको नाममा बैंक वित्तीय संस्थामा खाता खोली खाता सञ्चालन गर्दा रहेछन् । सो खातामा एकजनाको दस्तखतबाट बैंक कारोबार सञ्चालनसमेत गर्ने गरेको विभागले जनाएको छ । झुट्टा तथा नक्कली बिजक लिई कर छली गर्ने केही करदाताहरूको प्रारम्भिक अनुसन्धानपछि यसको व्यापकता र विकराल रूपमा कर छलीको गम्भीर अवस्था रहेको पत्ता पाएको थियो ।

ज्याला मजदुरी गर्ने अनपढ व्यक्तिहरूलाई प्रलोभनमा पारी निजहरूको नाममा कम्पनी खोली त्यस्ता कम्पनीबाट वास्तविक रूपमा मालवस्तुको खरिद बिक्री कारोबार नै नगरी झुट्टा बिजक जारी गरी राजस्व चुहावट गर्ने गरेको खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरूले कम्पनीको दर्तावाला व्यक्ति र अन्य कुनै एक आफू नियन्त्रित व्यक्तिलाई कर्मचारीको रूपमा राखी खाता सञ्चालन गर्न लगाइ संगठित रूपमा राजस्व चुहावट गरेको उनले बताए ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन ०५२ को दफा ४ ‘क’, ‘ख’ र ‘घ’ बमोजिम उनीहरूले मूल्य अभिवृद्धि कर र आयकर छली गरेको प्रमाणित भएपछि मूल्य अभिवृद्धि कर ऐन ०५२ बमोजिम दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर सोही ऐनको दफा २९ (१) ग र २९ (२) बमोजिमको जरिवाना, थप दस्तुर र ब्याजसहित ६५ करोड ४४ लाख २८ हजार २ सय ३७, तथा आयकर ऐन ०५८ अनुसारको शुल्क र ब्याजसहित हुन आउने १ अर्ब ९ करोड ९९ लाख ८१ हजार ९ सय ९३ रुपैयाँ राजस्व चुहावट भएको ठहर विभागको छ । विभागका अनुसार उनीहरूले विभिन्न २४ व्यक्तिको नाममा कम्पनी दर्ता गरी १ अर्ब ७५ करोड ४४ लाख १० हजार २ सय ३० रुपैयाँ करछली गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

हुन्डी कारोबारीविरुद्ध साढे ३ करोड मागदाबी
विभागले विदेशी विनिमय अपचलन तथा हुन्डी कारोबारी गरेका दुई जनाविरुद्ध साढे ३ करोड बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ । विभागले रिलायन्स सब रेमिट प्रालिका सञ्चालकद्वय गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बूविरुद्ध ३ करोड ६६ लाख बिगो मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध तीन वर्षको कैदसमेत विभागले माग गरेको छ ।

रिलायन्स रेमिट प्रालिका सञ्चालक सुब्बा र लिम्बूको साझेदारीमा रिलायन्स सबरेमिट प्रालि दर्ता गरी उक्त फर्ममार्फत मलेसियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याइ नेपालमै एक ठाउँबाट अर्को ठाउँमा पठाएको कारोबार देखाइ विनिमय अपचलन गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध फागुन–१९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक मैनालीले जानकारी दिए ।
आठ जनामाथि साढे एक करोड बिगो मागदाबी

विभागले राजस्व चुहावटमा संलग्न आठ जनामाथि पनि १ करोड ४२ लाख बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ । सिद्धि अर्नामेन्टका हनुमन्त शंकर चौभान, रोहित पटेल भन्ने दादासो दत्तात्रेय माने, दिपेश यादव, राजन गुप्ता र मनोहर साह, माँ दुर्गा ज्वेलरीका दिनेश साह र ओम ज्वेलर्सका रामबाबु साह, अनिल साहविरुद्ध बिगो मागदाबीसहित विभागले आइतबार नै मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया