‘विद्यालयमा नैतिक शिक्षाको खाँचो’

बाँके । प्रदेश–५ का प्रदेशसभा सदस्य आइपी खरेलले शैक्षिक प्रणाली सुधारसँगै विद्यालयहरूमा अब नैतिक शिक्षा अनिवार्य गर्न जरुरी रहेको बताएका छन् ।

नेपालगञ्जमा रहेको आदर्श माध्यमिक विद्यालय नेपालगञ्जको १८औँ वार्षिकोत्सवका अवसरमा विद्यालय प्रांगणमा शनिबार आयोजित विशेष कार्यक्रममा बोल्दै खरेलले सो कुरा बताएका हुन् ।

औपचारिक कार्यक्रममा बोल्दै सांसद खरेलले आदर्शवान र नैतिकवान मानिस आजको आवश्यकता भएको औँल्याएका छन् । आदर्श माविले बाँकेको शैक्षिक विकासमा अहं भूमिका खेलेको चर्चा गर्दै उनले निम्नस्तरका अभिभावकहरूलाई पनि विद्यालयले समेट्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालयका चिफ डाइरेक्टर ईश्वरप्रसाद पोखरेलले विद्यालयले गरिरहेका गतिविधिहरू र भावी योजनाबारे चर्चा गरे । विद्यालयका एकेडेमिक एड्भाइजर प्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ मिर्गाैला रोगविशेषज्ञ डा.ऋषि काफ्ले, हिसानका वरिष्ठ उपाध्यक्ष टंक आचार्य, नेपालगञ्ज उपमहानगरपालिका–१० का वडाध्यक्ष विन्दुभूषण बस्नेत, १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी, आदर्श माविका संस्थापक सदस्य डा.राजकुमार सुवेदी, विद्यालयका प्राचार्य वीरभान केसी, सहप्राचार्य टंकप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएका अंशुराज ओली र विपिन पौडेललाई सम्मान गर्नुका साथै हरेक वर्ष प्रदान गरिने अनुराधा स्मृति पुरस्कार अनुराधा स्मृति कोषका संरक्षक धु्रव अधिकारीले गत वर्षको एसइई परीक्षाका सर्वोत्कृष्ट छात्रात्रय अदिति बडवाल, ज्योति झा र आरती आचार्यलाई संयुक्त रूपमा प्रदान गरेका थिए ।

विद्यालय प्रांगणमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, फेसन सो लगायतका प्रस्तुति देखाएका थिए । विद्यालय परिसरमा शिक्षक र विद्यार्थीहरूद्वारा विभिन्न फुड स्टलसमेत राखिएको थियो ।

प्रतिक्रिया