निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । काठमाडौँ महानगरपालिका १ लगायत विभिन्न सामाजिक संस्थाले नक्सालमा आज आयोजना गरेको स्वास्थ्य शिविरमा करीब ५०० ले स्वास्थ्य परीक्षण गराएका छन् । नियमित रुपमा स्वास्थ्य परीक्षण गर्न नसक्ने सर्वसाधारण तथा स्थानीयवासीलाई लक्षित गरी आयोजना गरिएको शिविरमा बिपी कोइराला लायन्स अध्ययन केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, फेमिली डेण्टल सोलुसनका चिकित्सकले आँखा, दाँत र सामान्य परीक्षण गरी निःशुल्क सेवा उपलब्ध गराएका हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै कामपाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरभित्र भएका निजी अस्पताल सञ्चालकले गरीब तथा विपन्न वर्गका लागि निःशुल्क उपचारका साथै सहुलियत उपलब्ध गराउनका लागि गृहकार्य भइरहेको बताए ।

उनले महानगरभित्रको ऐतिहासिक महत्वका प्राचीन सम्पदा संरक्षण र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम भइरहेको जानकारी गराए । कामपा १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले पूर्वाधर निर्माण तथ स्थानीय मठमन्दिरको संरक्षण तथा स्थानीय विकासका लागि आफू प्रतिबद्ध रहेको विचार व्यक्त गरे ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ चिकित्सक डा विपीन नेपालले स्वस्थ्य जीवनका लागि शारीरिक व्यायाम गर्नुपर्ने धूमपान तथा मदिराको सेवन गर्न नहुने बताए ।

बिपी कोइराला लायन्स अध्ययन केन्द्रका रवीकुमार पौडेल, नेपाल उद्यमशील महिला संघका अध्यक्ष रम्भा श्रेष्ठ, कार्यक्रमका संयोजक राज्यलक्ष्मी शाक्यलगायतले खाद्यवस्तुमा प्रयोग भइरहेका विषादी, प्रदूषणले बिग्रदै गएको वातारण, अल्छीपनालगायतले पनि विभिन्न रोगको सङ्क्रमण बढ्दै गएको बताए ।

प्रतिक्रिया