छोरीको उपचारको लागि सहयोगी हात खोज्दै

बुटवल । दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका धनगढी स्थायी घर भई हाल तिलोत्तमा नगरपालिका–९ कुञ्जलापुरका रमेश विककी नौ वर्षकी छोरी युनिशा विकको उपचारमा आर्थिक अभाव भएको छ ।  गत २ फागुनमा भाडामा बस्दै आएका साथीहरूसँग कुञ्जलापुर जंगलमा खेल्न गएको वेला रुखको हाँगा भाँचिएर टाउकोमा गम्भीर प्रकृतिको चोट लागेको थियो । अहिले बुटवल–११ मा रहेको चौरहा अस्पतालको आइसियुमा उपचाररत रहेकी युनिशाको उपचारको लागि करिब १ लाख ५० हजार रुपैयाँ लाग्ने भएपछि बिरामीका बुबा रमेश विकले सहयोगको याचना गरेका हुन् ।

स्थानीय उमा मावि कुञ्जलापुरमा कक्षा १ मा पढ्दै गरेकी युनिशाको टाउकोमा गम्भीर प्रकृतिको चोट लागेको चिकित्सक सुदीपरजा सिंहले बताएका छन् । टाउकाको केही हड्डीसमेत भाँचिनुको साथै रगत जमेका कारण अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएका छन् । दुर्घटना भएपछि सुरुमा स्थानीय स्वाथ्यचौकीमा परिवारले पु¥याएका थिए । त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । त्यहाँसमेत उपचार हुन नसकेपछि स्वाथ्यकर्मीको सुझावमा उनलाई चौराह अस्पतालमा रिफर गरिएको थियो । हालसम्म करिब ४० हजारभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ ।

तर, अप्रेसनका लागि लाग्ने डेढ लाख रुपैयाँ जुटाउन नसकेका कारण आपूmहरूले सहयोगको याचना गरेको बिरामीकी आमा ममता विकले बताइन् । दैनिक ज्यालादार (घरनिर्माण गर्ने श्रमिक) रहेका उनीहरूले १० महिनाकी छोरीसमेत रहेकी छन् । उनलाई सहयोग गर्नको लागि ९८२१४०६९५५ मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।

प्रतिक्रिया