हाइयर एजुकेसन फेयर हुँदै

बाँके । शैक्षिक क्षेत्रका अगुवाहरूले अभिभावक र विद्यार्थीहरूको विदेशमा शिक्षा आर्जनको मोह बढ्दै गएकोमा चिन्ता गरेका छन् । उनीहरूले मुलुकमै स्तरीय उच्च शिक्षाको उचित प्रवन्ध भइरहँदा पनि विदेशमा शिक्षाको बढ्दो मोहले देशलाई संकटतर्फ धकेलिरहेको भन्दै चिन्ता गरेका हुन् ।

‘विदेश गएका विद्यार्थीहरू फर्किएर आउन गा¥हो मानिरहेका छन,’ ब्राइटल्यान्ड कलेजका प्राचार्य डा.राजेशकेशर खनालले नेपालगञ्जमा आयोजित एउटा कार्यक्रममा पत्रकारसँग भने, ‘यहीँ पढ, स्वदेशमै काम गर भन्ने अवधारणाको विकास गरिनु जरुरी छ ।’

यसै साता नेपालगञ्जमा आयोजना गर्न लागिएको नेपाल हाइयर एजुकेसन फेयर पाँचौँ संस्करणको सन्दर्भमा भएको पत्रकारसँगको भेटघाट कार्यक्रममा डा.खनालले ‘एउटा सिंगो पुस्ता लागेर मात्र देश बन्ने भएकाले नेपालमै सम्भावना खोज्न’ आग्रह गरे । यहाँ ‘अथाह सम्भावना छ,’ डा. खनालले भने ।

नेपालकै ठूलो शैक्षिक मेलाका रूपमा स्थापित रहँदै आएको ‘नेपाल हाइयर एजुकेसन फेयर’ पहिलोपटक नेपालगन्जमा शुक्रबार र शनिबार आयोजना हुन लागेको हो ।

‘पहिलोपटक देशका सात वटै प्रदेशमा एजुकेसन फेयर गरिँदैछ,’ ‘लर्न लोकल्ली फिट ग्लोबल्ली’ भन्ने उद्देश्यसहित आयोजना भइरहेको शैक्षिक मेलाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा नेपाल हाइयर एजुकेसन फेयर प्रदेश–५ का को–अर्डिनेटर भरत विष्टले भने, ‘यो प्रदेशको शैक्षिक हबका रूपमा नेपालगञ्जलाई चिनाउन पनि नेपाल हाइयर एजुकेसन फेयर यहाँ आवश्यक ठानियो ।’ प्रदेश–५ मा मात्र दुई ठाउँ रोजिएको शैक्षिक प्रदर्शनी देशका अन्य प्रदेश राजधानीहरूमा गरिँदै छ ।

पत्रकारहरू माझ अल्पाइन म्यानेजमेन्ट कलेजका प्राचार्य केशव पथिकले स्तरीय उच्च शिक्षाका लागि विदेश जानु आवश्यक नभएको बताए । ‘स्तरीय शिक्षाका लागि नेपालमै राम्रो विकास भइरहेको छ,’ पथिकले पत्रकार सँग भने, ‘नेपालगञ्जमै पनि हामीहरू विद्यार्थीहरूको सुरक्षित र सुनिश्चत भविष्यका लागि सम्भावना तयार गरेका छौँ ।’

उनले आफ्नै कलेजको पछिल्लो अवस्थाबारे सन्तोष व्यक्त गर्दै २५ प्रतिशत बढी मुस्लिम र मधेसी समुदायका विद्यार्थीहरू जोडिएको प्रसंग सुनाए । ‘६ वर्षअघि शून्यप्रायः रहेको स्थानीय विद्यार्थीको संख्या बढ्दै गएको छ,’ पथिकले भने ।

कन्सल्टेन्सीहरूको लहलहैमा लागेर भारतलगायत तेस्रो मुलुकमा विद्यार्थीहरू जाने क्रम नरोकिएको प्रति चिन्ता गर्दै ‘नेपाल हाइयर एजुकेसन फेयर’का प्रदेश को–अर्डिनेटर विष्टले विद्यार्थीहरूले गुणस्तरीय शिक्षा नेपालमै प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले शैक्षिक मेला आयोजना गर्न लागिएको बताए । ‘यो एउटा राम्रो अवसर हो,’ अल्पाइनका प्राचार्य पथिकले भने ।

आयोजकका अनुसार, शैक्षिक मेलामा देशभरका २५ वटा उत्कृष्ट शिक्षण संस्थाहरूको सहभागिता रहनेछ । उच्च शिक्षाका लागि विद्यार्थीहरू विभिन्न मुलुक जाने क्रम बढ्दै जाँदा स्वदेशमै उच्च शिक्षा उपलब्ध गराउने उच्च गुणस्तरीय शिक्षण संस्था छन् भन्ने जानकारी विद्यार्थीहरूलाई गराउन खोजिएकोले ती शैक्षिक संस्थाहरूले उक्त अवसरको प्रस्तुति गर्नेछन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार, अघिल्लो वर्षको तथ्यांकअनुसार उच्च शिक्षा हासिल गर्न २३ प्रतिशत नेपाली भारत जाने गरेका छन् भने ११ प्रतिशत अस्ट्रेलिया र अमेरिका पुग्ने गरेका छन् । त्यस्तै अन्य मुलुकमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या १५ प्रतिशत छ । उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरूबाट अर्बाैं रुपैयाँ बिदेसिने गरेको छ ।

भिजन मिडिया इनकर्पोरेट र एजुकेसन डट कमको मुख्य आयोजनामा भइरहेको शैक्षिक मेलामा ब्राइटल्यान्ड कलेज र अल्पाइन म्यानेजमेन्ट कलेजले स्थानीय रूपमा साझेदारी गरेको बताइएको छ । शिक्षा मन्त्रालयसँगको समन्वयमा प्रत्येक वर्ष आयोजना गरिँदै आएको यो शैक्षिक मेलाबाट बिबिए, एमबिए, बिआइटी, बिआइएम, बिएचएम, एटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिसिए, बिबिएस, बिएससी, सिएसआइटी, बिडेभ्सलगायत कोर्स पढ्न चाहने विद्यार्थीहरू लाभान्वित हुने जनाइएको छ .

प्रतिक्रिया