प्रयोगमा नआउँदै भत्कियो विद्यालय भवन

सल्यान । यहाँको एक विद्यालयको भवन प्रयोगमै नआएर भत्किएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–७ घाँजरीपीपलस्थित मैदुमा १० वर्षअघि निर्माण गरिएको कृष्ण मावि लेकसंग्रहीको जीर्ण बन्दै गएको नया“ भवन प्रयोगमा नआउँदैै भत्कन थालेकोे छ । भवनका आधा भागका कर्कटपाताहरू हावाले उडाइसकेका छन भने वर्षातले गर्दा पर्खालसमेत कमजोर भएका छन् ।

साविकको घाँजरीपीपल गाविसले आव ०६३-६४ मा ९ लाख २५ हजारको लागतमा निर्माण गरेको ६ कोठे भवन विद्यालय स्थानान्तरण विवादका कारण प्रयोग नभएपछि त्यत्तिकै थन्किएको थियो । साविकको घा“जरिपीपल गाविस–७ मा रहेको विद्यालय मैदुपोखरीमा सार्ने निर्णयअनुसार सो स्थानमा रहेको ६ कोठे भवन निर्माण गरिएको हो ।

विद्यालय भवन निर्माण गरे पनि विद्यालय सार्ने कुरामा नीतिगत समस्या भएपछि गाविसले भवनमा लगाएको रकमको दुरुपयोग भएको जग्गा दान गरेका रामबहादुर बुढाले बताए । भवन प्रयोगविहीन हुँदा भत्कँदै गएको उनले जानकारी गराएका छन् । ‘विद्यालय सार्ने भन्दै सर्वपक्षीय र सर्वदलीय सहमति भएअनुसार मैले निःशुल्क जग्गा दिएको थिएँ’, उनले भने, विद्यालय सार्ने कुरामा नीतिगत समस्या भएपछि निर्माण गरिएको भवनको केही काम अधुरै रहेको थियो ।’

‘भवनको पाँच कोठाको छाना तथा कर्कटपाता हुरिले फालेको छ । पर्र्खालका ढुंगा खसेका छन’, उनले भने, ‘भवन मर्मत बारेमा कसैले चासो देखाएका छैनन, चासो नदेखाउँदा भवन आउदो वर्षामा सबै भत्कने सम्भाबना बढिरहेको उनको भनाइ छ । पुरानो भवन भए पनि स्थानीय तहले मर्मतका बारेमा चासो नदिएकाले भवन काम नलाग्ने अवस्थामा पुगेको जीतबहादुर खडकाले बताए ।

पुरानो ठाउँमा सञ्चालित विद्यालयलाई राजनीतिक दलको हस्तक्षेप गरी स्थानान्तरण गर्नु ठीक नभएको र विद्यालयले पनि मैदु क्षेत्रमा आउनेतर्फ असमर्थता जनाएका कारण निर्माणाधीन भवनको पूराकाम नहँुदै त्यत्तिकै थन्किएको स्थानीय दलबहादुर रोकायले बताए । भत्कन थालेको जीर्ण भवन मर्मत गर्नसके सबैलाई फाइदा हुने उनले बताएका छन् । उनले मर्मतका लागि स्थानीय जनप्रतिनिधिसमक्ष आग्रहसमेत गरेको जानकारी दिए ।

कृष्ण माविका प्रअ मोहनकुमार रोकायले विद्यार्थीलाई यताउता गर्दा पठनपाठनलाई असर पुर्याउने भएकाले विद्यालय सार्नेतर्फ नलागेको बताए । विद्यालय नसार्ने भएपछि निर्माण गरिएको भवन प्रयोगमा नआएको उनले जानकारी गराए । ‘गाविसले दिएको रकम हाल विद्यालय भएको ठाउँमा भवन बनाएको भए धेरै विद्यार्थीलाई राहत हुने थियो’, उनले भने, ‘नमानेर उतै बनाउँदा त्यत्तिकै खेर गयो ।’ भवन काम नलाग्ने भएपछि अहिले सबैलाई पछुतो भएको उनको भनाइ छ ।

प्रतिक्रिया