भ्रष्टाचारीलाई कारवाही हुनैपर्छ: वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारीलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन् । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्दछ भने ।

देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारमा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले सुशासन र शान्ति सुरक्षा विकासको पहिलो शर्त भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले संसद्मा कांग्रेसको भूमिका प्रभावकारी नभएको बताउँदै राष्ट्रिय महत्वका विषयमा कांग्रेसले सदनबाट आवाज उठाउनुपर्ने धारणा राखे । फरक प्रसङ्गमा नेता पौडेलले कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताए । वर्तमान कार्यसमितिलाई म्याद थप्ने अधिकार नभएको भन्दै पौडेलले समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया