चन्द्रागिरिमा लागुऔषधसम्बन्धी सचेतना अभियान

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना अभियान सुरु भएको छ । चन्द्रागिरि नगरपालिका र जागरण महिला विकास समाज नेपाललगायत विभिन्न संघसंस्थाले लागुऔषध दुरुपयोग नियन्त्रणका लागि उक्त अभियान थालेको हो ।

दिनप्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेकाले यसलाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम थालिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । सोही अभियानअन्तर्गत मङ्गलबार यहाँ विद्यार्थीलाई सचेतना दिने उद्देश्यले लागुऔषध नियन्त्रणसम्बन्धी अन्तर माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको थियो ।

सोह्र विद्यालय सहभागी सो प्रतियोगितामा ज्ञानसुधा एकेडेमी, रिम्स स्कूल, न्यू होराइजन स्कूल र मातृ अरविन्द स्कूलका विद्यार्थी क्रमशः प्रथम, द्धितीय र तृतीय हुन सफल भएका र उनीहरुलाई नगद रु सात हजार, पाँच हजार र रु तीन हजार पुरस्कार प्रदान गरिएको जागरण महिला विकास समाज नेपालकी अध्यक्ष सुगन्धा सुवेदीले जानकारी दिइन् ।

सो क्रममा विभिन्न सचेतनामूलक कार्यक्रमसहित गृहमन्त्रालयबाट प्राप्त चेतनामूलक सामाग्रीसमेत वितरण गरिएको थियो । विसं २०६९ को अध्ययनमा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ९१ हजार ५३४ रहेको छ ।

अहिले अध्ययनको क्रममा रहेकाले नयाँ तथ्याङ्क नआए पनि झण्डै रु एक लाख ५६ हजार नाघेको अनुमान गरिएको छ । वार्षिक ११ दशमलव ३६ प्रतिशतले सङ्ख्या वृद्धि भएको अध्ययनमा पाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी खड्ग श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया