महिला पत्रकारको प्रभावकारिता हेर्दा

पत्रकारिता हिजोको होस्, आजको होस् वा भोलिको किन नहोस्, जनतालाई सु–सूचित गराउने लक्ष्य नै पत्रकारिताको जिम्मेवारी हो । महिला पत्रकारका हकमा झनै जिम्मेवारीबोध हुन्छ । लगामविहीनजस्तै अनुभव गरियो भने पत्रकारिता लावारिश पेसा पनि हो । पत्रकारिता पेसाको निश्चित आयस्रोत हुँदैन । यथार्थमा पत्रकार भनेका समाजमा देखापर्ने अन्याय, अत्याचार र विकृति तथा विसंगतिहरूलाई तह लगाउने सिपाही हुन् । पत्रकारिताले सरकारलाई मार्गदर्शन गर्दछ ।

सरकारले जनताको पक्षमा काम गर्न चाहने हो भने प्रेस जगत् सरकारको आँखा हो । सरकारलाई पीडित जनताको अवस्था जानकारी गराउने माध्यम प्रेस जगत् हुने भएकाले राज्यले प्रेस जगत्लाई सरकारको ऐनाको रूपमा लिनुपर्दछ । प्रेस जगत्लाई राज्यको चौथो अंगको मान्यता दिइएको छ । नेपाली प्रेस संख्यात्मक हिसाबले वृद्धि भएको देखिए पनि प्रेसको प्रभावकारिता र राज्यले प्रेसलाई गर्नुपर्ने दायित्व निर्वाह गरिरहेको अवस्था छैन । प्रेस स्वतन्त्रता निःसन्देह पत्रकारहरूको चाहना हुन्छ । स्वतन्त्रता लेख्नका लागिमात्र नभएर विज्ञापन पाउने स्वतन्त्रता पनि पत्रकारहरूको चाहनामात्र होइन, अधिकार पनि हो ।

दुई दशकअघि पत्रकारिता क्षेत्रमा क्रियाशील महिला खोज्नुप¥यो भने शीला खोजेजस्तै एकाध पत्रकार महिला भेटिन्थे । तर, आज नेपाल पत्रकार महासंघको सदस्यता संख्यालाई नै हेर्ने हो भने पनि दुई हजारभन्दा माथिको संख्या रहेको छ । छापा माध्यमसँगसँगै टेलिभिजन, रेडियो र सामाजिक सञ्जाल अनलाइन पत्रकारिताका कारण पनि दिनानुदिन पत्रकार महिलाहरूको सहभागिता बढ्दो छ । पत्रकारिता पेसामा हुन सक्ने भौतिक र मानसिक असुरक्षा, समयको असीमितताका कारण पनि थोरै महिला मात्रै यस पेसामा आउन आकर्षित हुन्छन् ।

पत्रकार महिलाहरू नेतृत्वका लागि व्यवस्थापकबाट पत्याइएनन् वा महिलाहरूले त्यही स्तरमा क्षमता विकास गर्न सकेका छैनन् वा हाम्रो सामाजिक परिवेश जहाँ महिलाहरूलाई पुरुषप्रधान समाजले नेतृत्वमा ल्याउन चाहँदैन ? यी प्रश्नमा बहस गर्नु जरुरी छ । पत्रकार हुनुका नाताले पुरुष वा महिलाका पेसागत हकहितका मुद्दा एउटै हुन् । पत्रकार महिलाका समस्यालाई केवल महिलाको समस्याको रूपमा मात्रै नलिई हरेक सञ्चार माध्यममा लैंगिकमैत्री वातावरण बनाउन सिंगो सञ्चार माध्यममा कार्यरत व्यक्तिहरू लाग्नुपर्दछ । महिला पत्रकारहरूका लागि सुरक्षित वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्नेतिर सबैको ध्यान जानै पर्दछ ।

नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधता भएको मुलुक हो । मुलुकमा रहेका सूचना तथा सञ्चारको जुनसुकै माध्यमलाई हेर्दा पनि पत्रकार महिलाहरूको समानुपातिक सहभागिता भएको पाइँदैन । पत्रकारिताको सञ्चालन, प्रकाशन र प्रसारणमा महिलाहरूको सामान्य पहुँच देखिए पनि अग्रपंक्तिमा पुरुषहरूकै हाली–मुहाली रहेको छ । नेपाली पत्रकारिताको सबै अंगमा लैंगिक विभेद्को अवस्था विद्यमान छँदैछ । अझ भन्नुपर्दा नेपाली पत्रकारिताले लैंगिकमैत्री पत्रकारिताको रूपमा आफूलाई स्थापित गर्न सकेको छैन । पत्रकारिता क्षेत्रमा सफल हुनका लागि पहिलो खुट्किला हो, पत्रकारमा हुने रुचि, क्षमता र दक्षता ।

त्यसपछि पनि पत्रकारिताका अन्य धेरै खुट्किलाहरू छन् । जस्तै–सम्पादन गर्ने क्षमता, विषयलाई विश्लेषण गर्ने ज्ञान, योग्यता र विषयलाई बुझेर तुरुन्त प्रतिक्रिया दिन सक्ने कौशल । त्यस्तै, शिक्षाको कमी, पहुँचको कमी, सूचनाको कमी र ठोस् कार्यक्रम तथा नीतिको अभावका कारण पनि महिलाहरूको पत्रकारितामा सहभागिता न्यून रहेको हो । वास्तवमा महिलाहरूका निम्ति पत्रकारिता पेसा बाहिर हेर्दा र देखेजस्तो ‘ग्ल्यामरस’ मात्र छैन, यो भित्रका दुःख, पीडा र समस्या अनेक छन् । महिला सञ्चारकर्मीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्दछ । महिला लैंगिक हिसाबले समावेशी हुनु, महिलाहरूको सहभागितामा वृद्धि गरिनु, नीति–निर्माण र निर्णायक तहमै सहभागी गराइनु अर्थपूर्ण हुन्छ ।

नेपाल पत्रकार संघ–महासंघमा अहिलेसम्म शशीकला शर्मा, चन्द्रकला आँचल, प्रेमकुमारी पन्त, हरिकला अधिकारी, उपसभापतिमा राधा बुढाथोकी, जसोदा प्रधान, शोभा गौतम, रमा सिंह, निर्मला शर्मा, दुर्गा कार्की, यशोदा तिम्सिना, गौरी कठायत, उपाध्यक्षमा यशोदा तिम्सिना, दुर्गा भण्डारी, संगीता खड्का, शान्ता बस्नेत, निशा विश्वकर्मा, अनिता विन्दू, सचिवमा संगीता खड्का, सुषमा पौडेल, पवन वर्षा शाह, सरिता ढकाल, निलिफा सुब्बा, रञ्जना पौडेल, सदस्यमा लक्ष्मी पुन, सिर्जना अर्याल, श्वेता सिंह, जानुका बराल, मधु शाही, मीरा राजभण्डारी निर्वाचित र मनोनित भएका छन् ।

नेपाल पत्रकार महासंघको कार्यसमितिले अझै पनि राज्यले दिएको ३३ प्रतिशतको अनिवार्य उपस्थितिलाई आत्मसात गरी महिलाको नेतृत्वप्रति उदार हुनुपर्ने आवाज उठेको छ । सम्भवतः यसतर्फ महासंघको ध्यान जानेछ । प्रदेश र जिल्लास्तरमा पनि महिला पत्रकारलाई समेटिरहेको छ, तर त्यसलाई पनि अझ उदार बन्ने कि ? भन्ने आवाज घन्केको छ । महिला पत्रकारले भोग्नुपर्ने समस्यालाई ख्याल राख्दै कसरी व्यवस्थापन गर्ने भन्ने सोच आउनु पर्दछ । पत्रकार महिलालाई प्रोत्साहन र अवसर दिन नयाँ कार्य योजना बनाउनुपर्छ भन्ने सोच आवश्यक छ ।

नेपाल पत्रकार महासंघमा आबद्ध १३ हजार ५० जना पत्रकारमध्ये २ हजार ३ सय ५४ जना मात्र पत्रकार महिला संख्या छ । त्यसैगरी सम्पादक पदमा पुगेका ३२ जना मात्र महिला छन् भने १ हजार ५० पार्षद्मध्ये ५३ जना मात्र पार्षद् महिला छन् । यसबाट पनि महिलाको न्यून सहभागितालाई प्रष्ट पारेको छ । विगतको तुलनामा सञ्चार माध्यममा महिलाको सहभागिता बढ्दै गएता पनि विद्युतीय सञ्चार माध्यममा भन्दा छापामा महिलाको संख्या न्यून छ । हुन त पत्रकारिता पेसा महिला र पुरुष नभनिकन गरिने चुनौतीपूर्ण पेसा हो । यति हुँदाहुँदै पनि केही समयका निम्ति महिलालाई विशेषप्रकारको तालिम र अवसरको खाँचो छ ।

महिला पत्रकारले पनि समसामयिक मुद्दामा अध्ययन गरी अपडेट भइरहने, दह्रो आँट र विश्वास बोकेर जिम्मेवारी निभाउने गरेमा पक्कै पनि महिला पत्रकारिता फष्टाउन सक्छ । पत्रकारितालाई नै पेसा बनाएर आएका महिलालाई राज्यले टिकाइराख्ने वातावरणको सिर्जना गर्नु आजको आवश्यकता हो । राज्यका हरेक निकायले महिला पत्रकारलाई क्रियाशील बनाउन र पेसामा टिकाइराख्नका लागि अधिकतम हौसला र अवसर दिनुपर्ने पत्रकार महिलाको अपेक्षा छ । यसतर्फ राज्य, पत्रकार महासंघ कठोर बन्ने कि ? आजको आवश्यकता यही हो ।

प्रतिक्रिया