भेनेजुएलामा पानी पर्दा नेपालमा छाता ओढ्नेहरू

मे २०१८ मा राष्ट्रपतीय निर्वाचन भयो । यो चुनावका वेला लोकप्रिय विपक्षी नेताहरू कि जेलमा थिए कि निर्वासन वा उनीहरूलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो । विपक्षीलाई सहभागी हुनै नसकिने गरी गरिएको चुनावमा २० प्रतिशत मतदान भएको थियो । ती पनि सरकारी कर्मचारी थिए जसलाई मत खसाल्न सरकारले तर्साएको भनिन्छ

भेनेजुएला विश्वको पेट्रोलियमको सबैभन्दा धनी देशहरूमध्ये एक हो । त्यहाँ सुन र हिराका पनि ठुल्ठूला खानीहरू छन् । विश्वकै आकर्षक तथा ठूला राष्ट्रिय निकुञ्जका कारण पर्यटकीय आकर्षण पनि त्यतिकै छ । अर्थात् पर्यटकीय दृष्टिकोणले पनि भेनेजुएला विश्वकै धनी देशहरूमध्ये पर्छ । कुल भूभागको ५० प्रतिशतभन्दा बढी त जंगल नै छ । यहाँको काठ विश्वमा अन्यन्त्र पाइनेभन्दा बलियोमा पर्छ ।

बन्दरगाहका लागि उपयुक्त सामुद्रिक तटमा पनि भेनेजुयला विश्वकै अग्रणी मुलुकमध्ये पर्छ । दक्षिण अमेरिकाको उत्तरी क्षेत्र, युरोप, उत्तर अमेरिका र उत्तरी अफ्रिकाका लागि भनेजुयलाका बन्दरगाहहरू पायक पर्छन् । जलस्रोतको दृष्टिकोणले पनि भेनेजुएला निकै अगाडि छ । कृषि उत्पादनको कुरा गर्नुपर्दा एक वर्षमा चार बाली लाग्ने हावापानी छ । करिब ७० प्रतिशतभन्दा बढी भूमि कृषिका लागि अत्यन्त उपयुक्त छ । तर, करिब ५ प्रतिशत भूमिमा मात्रै खेती गरिएको छ । त्यो खेतीले भेनेजुएलाका जनतालाई मज्जाले खान पुग्छ । नेपालभन्दा ५ गुणा ठूलो क्षेत्रफल भएको भेनेजुएलाको जनसंख्या जम्मा ३ करोड २० लाख छ ।

प्रकृतिले सबै कुरामा साथ दिएको मुलुक भेनेजुएला आर्थिक दृष्टिकोणले विश्वकै सबैभन्दा धनी होला भन्ने अनुमान धेरैको हुन सक्छ । तर, आश्चर्यको कुरा यति धेरै प्राकृतिक स्रोत र साधनले सम्पन्न भएको देश भेनेजुएला विगत डेढ दशकदेखि क्रमशः गरिबीको दुश्चक्रमा फस्दै जाँदा यतिवेला थिलो थिलो भएको छ । डेढ दशकअघि प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर रहेकोमा आज ११ सय अमेरिकी डलरमा झरेको छ । मुद्रा स्फीति १ करोड प्रतिशत नाघेका कारण यतिवेला भेनेजुएला गम्भीर आर्थिक संकटमा छ । गम्भीर आर्थिक संकटले राजनीतिक संकटसमेत निम्त्याएको मात्रै छैन, विश्वलाई नै तरंगित बनाएको छ । त्यो तरंगको बाछिटाले नेपालमा समेत संकट निम्त्याउने हो कि ? भन्ने प्रश्न पनि उत्पन्न भएको छ । घटनाक्रम त्यतातिर बढिसकेको देखिएको छ ।

भेनेजुएलाको अवस्था यथास्थितिमै रहन दिने कि परिवर्तन गर्ने ? भन्ने प्रश्नमा विश्वका शक्तिशाली मुलुकहरू शीत युद्धको वेला जस्तै दुई कित्तामा विभाजित भएका छन् । शीत युद्धका वेला नेपालले असंलग्न कूटनीति अपनाएको थियो । तर, यतिवेला हतार–हतार गर्दै सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यथास्थितिको पक्षमा कडा वक्तव्य दिए ।

परिर्वतनका लागि भइरहेको जनआन्दोलनलाई साथ दिए वापत संयुक्त राज्य अमेरिकाको समेत नेकपाका अध्यक्ष प्रचण्डले कडा आलोचना गरे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले परिर्वतनका लागि भइरहेको आन्दोलनको पक्षमा आफ्नो मत जाहेरसँगै सरकारले पनि बीचमा रहेर आफ्नो मत जाहेर ग¥यो । सरकार र सत्तारूढ पार्टीका अध्यक्षबीच देखिएको यो भिन्न दृष्टिकोणले नेपालको राजनीति तरंगित भएको छ । संसदीय लोकतन्त्रमा विश्वास गर्नेहरूले परिवर्तनका लागि भएको आन्दोलनमा र कम्युनिस्ट शासन व्यवस्थामा विश्वास गर्नेहरूले यथास्थितिका पक्षमा आफ्नो अभिमत जाहेर गरेको देखिएको छ ।

कसरी सुरु भयो भेनेजुएलाको दशा ?

सन् २००१ मा जब कम्युनिस्ट नेता हेयुगो चाभेज सत्तामा आए, त्यस वेलादेखि भेनेजुएलाको दशा सुरु भएको हो । उनी शासनमा आउनुअघि प्रतिव्यक्ति आय धेरै भए पनि धनी र गरिब बीचको खाडल ठूलो भएकोले जनता असन्तुष्ट थिए । पेट्रोल, सिमेन्टसहित कैयौँ उद्योगहरू केही व्यक्तिको हातमा थिए । सामन्ती भूमिप्रथा थियो । चाभेजले पेट्रोलियमसहित सबै उद्योगहरू राष्ट्रियकरण गरे ।

भूमिको पनि राष्ट्रियकरण गरी गरिबलाई वितरण गरे । राष्ट्रियता र समाजवादका पक्षमा चाभेज डटेर लागेको जनबुझाइ रह्यो । मुलुकको आम्दानीबाट जनतालाई भत्ता दिए । जसका कारण चाभेज निकै लोकप्रिय भए । चुनावमा अरूले चियाउनै सक्ने अवस्था रहेन । लगातार १३ वर्ष शासन गरेपछि उनी गम्भीर बिरामी भए । आँफू बाँच्न नसक्ने अवस्थामा पुगेपछि उनले मडुरोलाई उत्तराधिकारी घोषणा गरे । विगत ५ वर्षदेखि चाभेजकै उत्तराधिकारी मडुरोले सत्ता सञ्चालन गरिरहेका छन् ।

मडुरोले शासनसत्ता सम्हाले पछिको पाँच वर्षको अवधिमा भेनेजुएलामा के भइरहेको छ त ? राजधानी काराकासका सडकमा हातभरि पैसाको भारी बोकेर मानिसहरू सामान किन्न लाइन लागेका हुन्छन् । उनीहरूलाई गाडीमा ल्याएका सामान सकिएला र नपाऊँला भन्ने पिर हुन्छ । मडुरोले मासिक न्यूनतम तलब ३ सय ५० डलरबाट ७ डलरमा झारे । सन् २०१८ मा मुद्रा स्फीति १७ लाख प्रतिशत पुग्यो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार यो वर्ष १ करोड प्रतिशत पुग्नेछ । दैनिक न्यूनतम तलबले दुई वटा अण्डा पनि किन्न सकिन्न । एउटा अण्डाको २५ लाख (त्यहाँको मुद्रा) पर्छ । त्यसमाथि ३४ प्रतिशत भेनेजुएलाका नागरिक बेरोजगार छन् । भेनेजुएलामा खानेकुराको मात्र अभाव छैन अस्पतालमा औषधी पनि पाइन्न । सन् २०१५ यता २२ हजार डाक्टरले देश छोडेका छन् । विदेशमा रहेका आफन्तले औषधी पठाए पनि सरकारले विमानस्थलबाट जफत गरिदिन्छ । भेनेजुएलाका झन्डै तीन लाख बालबालिका कुपोषणका कारण ज्यान गुमाउने संघारमा छन् ।

संयुक्त राष्ट्र संघका अनुसार देशको कुल जनसंख्या ३ करोड २० लाखमध्ये ५० लाख भेनेजुएलावासी शरणार्थी बनेर गएका छन् । सूचांकअनुसार भेनेजुएला संसारका सबैभन्दा बढी भ्रष्टाचार हुने १० मुलुकभित्र पर्छ । भेनेजुएलालाई २ सय अर्ब डलर विदेशी ऋण छ ।
केही समयअघि भएको एउटा सर्वेक्षणका अनुसार ८० प्रतिशत भेनेजुएलावासी मडुरो सरकारका विपक्षमा छन् । भेनेजुएलावासी निष्पक्ष प्रजातान्त्रिक चुनाव मागिरहेका छन् ।

चाभेजको मृत्युपछि मडुरो कार्यवाहक राष्ट्रपति बने । संविधानअनुसार कार्यवाहक राष्ट्रपति राष्ट्रपतिको चुनाव लड्न पाउँदैनन् । सन् २०१५ अप्रिलमा भएको चुनावमा उनी उम्मेदवार बने । मडुरोको व्यापक विरोध भएर प्रतिपक्षीले जनमत संग्रहको माग गरेपछि मडुरोले फेरि राष्ट्रपतिको निर्वाचन गर्ने बताए । मे २०१८ मा राष्ट्रपतीय निर्वाचन भयो । यो चुनावका वेला लोकप्रिय विपक्षी नेताहरू कि जेलमा थिए कि निर्वासन वा उनीहरूलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो ।

विपक्षीलाई सहभागी हुनै नसकिने गरी गरिएको चुनावमा २० प्रतिशत मतदान भएको थियो । ती पनि सरकारी कर्मचारी थिए जसलाई मत खसाल्न सरकारले तर्साएको भनिन्छ । यो चुनावलाई भेनेजुएलावासीले मात्र होइन अन्तर्राष्ट्रिय समुदायले पनि अवैधानिक भनेका थिए । अमेरिकी राष्ट्रहरूको संगठन (अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स) सहित ५३ वटा देशले उक्त चुनावमा धाँधली भएको बताएको थियो । सन् २०१९ जनवरी १० मै त्यो संगठनले मडुरोको सत्तारोहण अवैधानिक भएको बताएको थियो ।

भेनेजुएलामा मिडियामाथि सेन्सर छ । सरकारको विरोधमा लेख्नेलाई जेल हालिन्छ । २०१४ यता सरकारविरुद्ध बोलेको कसुरमा ५ हजार बढीलाई हिरासतमा राखिएको छ । मडुरो सरकारले विदेशमा भएको सुन बेच्ने बताएको छ । स्वेदशमा उनीविरुद्ध प्रदर्शन बढ्दै गएपछि भेनेजुएलाले सुन राखेका विदेशी बैंकले पनि सुन बेच्न दिने÷नदिने टुंगो छैन ।

भोकमरीको संकेत देखिएपछि संयुक्तराज्य अमेरिकाले खाद्य सामग्री सहयोग पठाएको छ । तर, सेना समर्थित सरकारले उक्त सहायता देशमा भित्रिन दिइरहेको छैन । राष्ट्रपति निकोलस मडुरोको पक्षमा रहेको भेनेजुएला सेनाले सीमा क्षेत्रबाट ती ट्रक मुलुक प्रवेश गर्न दिएका छैनन् । मडुरोले ती ट्रक मुलुक भित्रिए अमेरिकी हस्तक्षेपसमेत सँगै भित्रिने दाबी गर्दै आएका छन् । यद्यपि, विपक्षी नेता गुवाईडोले भेनेजुएलाका जनता मानवीय जोखिममा रहेकाले सहयोग आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै आएका छन् ।

विपक्षी नेता हुवा गुवाईडोले अमेरिकाले पठाएको मानवीय सहायता सामग्री मडुरो सरकारको विरोधका बाबजुद मुलुक भित्राउने प्रतिवद्धता जनाएका छन् । विपक्षी नेता गुवाईडोले स्वंयसेवकलाई ती सामग्री वितरणका लागि तयारी अवस्थामा रहन आग्रहसमेत गरेका छन् । अर्काे साता सहायता सामग्री भेनेजुएला भित्रिने गुवाईडोको भनाइ छ । कोलम्बिया हुँदै भेनेजुएलामा अमेरिकाले पठाएको खाना र औषधि सहितको मानवीय सहायता सामग्री बोकेका ट्रक सीमा क्षेत्रमा रोकिएका छन् ।

प्रतिक्रिया