चिकित्सकद्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेपको विरोधमा सरकारी चिकित्सक संघ (गोदान) ले सोमबार पनि प्रदर्शन गरेको छ ।

संघमा आबद्ध सरकारी चिकित्सकहरूले पुरानो अस्पताल वीरदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म ¥याली निकालेका हुन् ।

यसअघि आइतबार मन्त्रालय परिसरमा समायोजनका विषयमा असन्तुष्टि जनाउँदै धर्नामा बसेका चिकित्सकमध्ये २५ जनालाई प्रहरीले गिरफ्तार गरी नेपाल पुलिस क्लव पु¥याएको थियो । पक्राउ परेका चिकित्सक साँझ रिहा भएका थिए ।

यसअघि संघीय संरचनाअनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाउँदा डाक्टरको दरबन्दी संघमानै राख्नु पर्नेभन्दै आन्दोलनमा उत्रिएका थिए । प्रदेश वा स्थानीय तह जहाँ खटाए पनि दरबन्दी संघमै हुनु पर्ने चिकित्सकको मागमा मन्त्रालयले गत २९ पुसमा सम्झौता गरेको थियो । हाल उक्त सम्झौंंता विपरित हुने गरी गतिविधि गरेको भन्दै उनीहरू दवाव मुलक कार्यक्रम अघि सारेका हुन् ।

यसैबीच चिकित्सकहरूको साझा संस्था नेपाल चिकित्सक संघसमेत समायोजन र चिकित्सकको दरबन्दी केन्द्रमा राखेर तल्लो तहमा परिचालन गर्ने कुरामा गोदानसँग एकमत देखिएको छ । संघ नेतृत्वले समेत स्वास्थ्यमन्त्री उप्रेन्द्र यादवलाई भेटेर ध्यानाकर्षण गराएको छ । संघले समायोजन प्रक्रियाको काम तुरुन्तै नटुंग्याए देशभरका स्वास्थ्यसंस्थामा आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

के भएको थियो सहमति

सरकारी चिकित्सक संघ (गोदान) र सरकारी वार्ता टोलीबीच २९ पुसमा ८ बुँदे सहमति भएको थियो । सरकारी वार्ता टोलीमा महानिर्देशक डा. गुणराज लोहनी, सह–सचिव जनार्दन गुरागाईं र जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ थिए । त्यसैगरी, गोदानका तर्फबाट डा. दीपेन्द्र पाण्डे, डा. रुद्र मरासिनी, डा. रबिन खड्का र डा. सन्तोष पौडेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताहरू
१. कर्मचारी समायोजन अध्यादेशअनुसार कर्मचारी समायोजन गर्दा संघीय लोकसेवा आयोगबाट नियुुक्त भएका स्वास्थ्य सेवा तर्फका चिकित्सकलगायत अधिकृतस्तरका कर्मचारीलाई संघीय सरकारले परिचालन गर्ने गरी आवश्यक व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने ।

२. स्वास्थ्य तथा नजसंख्या मन्त्रालयको संघ र प्रदेशको सांगठनिक संरचना बनाउँदा स्वास्थ्यसेवातर्फका (व्यवस्थापकीय पद) ११औँ तह वा सोभन्दा माथि छुट्टै समूह नराख्ने गरी कानुन निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल गर्ने ।

३. संघीय निजामती सेवामार्फत परिचालन गर्दा स्वास्थ्यसेवाको कर्मचारीको पनि अन्य मन्त्रालयको सचिव पदका लागि समान प्रतिस्पर्धा हुने गरी संघीय निजामती सेवा विधेयकमा आवश्यक व्यवस्था गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी पठाउने ।

४. एउटै छाता ऐनल्याई स्वास्थ्यविज्ञान प्रतिष्ठनहरूलाई व्यवस्थित गर्ने र हालसम्म प्रतिष्ठानहरूले सञ्चालन गरेका सम्पूर्ण अस्पतालहरू नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नै रहने र सोका कार्यकारी प्रमुख स्वास्थ्यसेवाको कर्मचारीमध्येबाट नियुक्ति गर्न आवश्यक व्यवस्था बढाउने ।

५. एक चिकित्सक, एक स्वास्थ्यसंस्थाको अवधारणलाई कार्यान्यन गर्न विस्तारित अस्पताल सेवा एक्सटेन्डेड हेल्थ सर्भिस र नन प्राक्टिस एलाइन्स भत्ताको व्यवस्था गरी सबै अस्पतालमा यथाशीघ्र लागू गर्ने ।

६. स्वास्थ्यसेवातर्फको ११औँ तहमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्ने व्यवस्था हटाउने ।

७. सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले सञ्चालन गर्दै आएका विरोधका कार्यक्रमहरू आजैका मितिदेखि फिर्ता लई यस सम्झौतालाई कार्यान्वयन गर्न सहयोग पुर्याउने ।

८. वार्ता सौहार्दपूर्ण सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई वार्ताटोलीका तर्फबाट धन्यवाद दिइयो ।

प्रतिक्रिया