मधेसी विशेषतायुक्त एकीकृत बस्ती

मधेसको जनजीवनको आधारमा एकीकृत बस्तीको सन्दर्भमा चर्चा गरिएको भए पनि अधिकांश प्रसंग देशभर लागू हुने प्रकृतिका छन् । कसैले घर पाउँदा जीवनको महत्वपूर्ण आधार पाएको हुन्छ

हिमाल, पहाड र तराई–मधेसमा विभिन्न मोहोडाको घर बनाइनुका पछाडि आफ्नै विशिष्टताहरू रहेका छन् । स्थानीय भूबनोट, हावापानी, संस्कृति र प्रकृति आदिले पनि गृह निर्माणलाई प्रभावित पार्दछ । गृह निर्माणमा त्यहाँको चिन्तन पनि प्रस्तुत भएको हुन्छ । वास्तवमा घरमा मानिस मात्र बस्दैन, उसको सम्पूर्ण इच्छा, आकांक्षा र चाहना पनि उसैसँग बसेको हुन्छ । घर मानिसको सपना हुने भएकोले हामीजस्तो विकासको चाहना राख्ने नेपालीका लागि आफूले सोचेको जस्तो घर पाउनु जीवनको एउटा महत्वपूर्ण सफलता मानिन्छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनलगायत विभिन्न संघ-संस्थाले एकीकृत बस्ती निर्माणमा चासो दिएका छन् । सरकारले पनि एकीकृत दलित बस्ती निर्माणमा सकारात्मक योगदान दिइरहेको छ । विभिन्न स्थानीय सरकारबाट पनि दलित तथा भूमिहीन नागरिकका लागि बस्ती निर्माणको काम भइरहेको छ । योजना बनाउने, बजेट विनियोजन गर्ने, प्लटिङ गर्ने, बस्तीका लागि घरको नक्सा बनाउने र कार्यान्वयन गर्नेसम्म धेरैवटा चरण पार गरेपछि बल्ल निर्माणको भौतिक काम सम्पन्न भई हस्तान्तरण गरिने हुनाले एकीकृत बस्ती निर्माण गर्दा धेरै कुरामा ध्यान दिइएको हुन्छ ।

सामान्यतया घरमा सजिलै प्रकाश छिर्ने, सम्भावनाको व्यवस्था, गर्मी र जाडोका साथै वर्षाबाट पनि जोगाउन सकिने, परिवारमा एक वा दुईजना पाहुना आउँदा पनि सुत्न–बस्न खासै समस्या नहुने, सडकभन्दा केही फिट छोडेर घर बनाइएको, भूकम्पीय जोखिम कम भएको, बाढीको पानी घरमा नपस्ने, पहिरोको डर नभएको, घरको पानीको निकास, खानेपानीको व्यवस्थापन, घरबाट निस्कने फोहोरको व्यवस्थापन, शौचालय भएको, घरसम्म सडक पुगेको, सडक कम्तीमा आवश्यक परेको समय एम्बुलेन्स र दमकल सजिलै पुग्न सकिने फराकिलो हुनुपर्ने हुन्छ ।

घरभित्रको भुइँ बढार्न र पुछ्न सजिलो हुने, मुसाले खन्न नसक्ने, भुइँमै केही सामान राख्नुपर्दा पनि केही समय नबिग्रिने, धेरै ओसिलो वा चिसो जमिन नहुने अनि सहज रूपमा झुल टाँग्न सकिने प्रकृतिको घर हुन सक्यो भने अझ राम्रो । घरको छानो पनि आगोको झिल्कोले नै सखाप हुने तथा सर्प लुक्न सक्ने नहुँदा उत्तम । यसैगरी, बिजुली बत्ती पुगेको, टोलका केटाकेटी कुनै ठाउँमा सजिलो गरी खेल्न पाउने खाली ठाउँ भएको, हेर्दा पनि चिटिक्क परेको आकर्षक देखिने, टोलका मानिसहरू एक ठाउँमा सामूहिक भेला बस्नुपर्दा ठाउँको अभाव नहुने, सुरक्षाका अन्य दृष्टिले पनि उपयुक्त भएको, मुख्य सडकसम्म सहज पहुँच भएको, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित संस्थासम्म पनि पुग्न समस्या नहुने, वातावरणीय दृष्टिले अत्यधिक प्रदूषित नभएको वा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने क्षेत्र नभएको, आपत् विपत्बाट जोगिन सक्ने जस्ता पक्षमा पनि ध्यान दिइएको हुन्छ र दिइनुपर्छ पनि ।

मानवका लागि गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य आधारभूत आवश्यकता भएको र बास जस्तो अति संवेदनशील आवश्यकताबाट वञ्चित रहेकालाई कतैबाट आवासको व्यवस्था गरिँदा माथिका विशेषताहरूलाई अंगिकार गर्दै स्थानीयलाई समेत महत्व दिनुपर्ने हुन्छ । हिमाल र पहाडको एकीकृत बस्तीभन्दा मधेसको एकीकृत बस्ती केही भिन्न प्रकृतिको हुनुपर्छ ।

एकीकृत बस्तीको निर्माण थाल्नुभन्दा पहिले मधेसका संस्कृति र वर्तमानसम्म चलि आएको अघोषित चलन अनुरूपको जग्गा जमिनतर्फ ध्यान जानु आवश्यक हुन्छ । खानेपानीको धारा जडान सकेसम्म घरको पर्खालभित्र वा घरको पछाडि किन राखिन्छ भने महिलालाई नुहाउन र भाँडा माझ्न सजिलो होओस् । अलिकति ठाउँ बिस्कुन सुकाउनलाई चाहिन्छ । धोएको कपडा सुकाउने ठाउँ पनि नभई हुँदैन । महिलामैत्री घर हुनैपर्छ किनभने मधेसमा अहिले पनि घुम्टोप्रथा वा पर्दाप्रथा कायम छ । महिलाले सम्मान गर्नैपर्ने अग्रजका अगाडि घरको कामकाज गर्नुपर्दाको अवस्थामा घुम्टो हालेर काम गर्नुपर्ने हुन्छ । यस अवस्थामा महिला र पुरुष दुवैलाई सामाजिक अप्ठ्यारो हुन्छ जुन पहाडतिर हुँदैन ।

जाडो महिनामा बाहिरबाट कठांग्रिएर घरमा आइपुग्दा घुर बालेर आगो ताप्ने ठाउँ पनि चाहिन्छ । घुर त मधेसको संस्कृतिको एउटा महत्वपूर्ण अंग हो । घुरले सामाजिकताको सञ्चार गर्छ, छलफल संस्कृतिलाई बढावा दिन्छ, सञ्चार र सम्पर्कको काम गर्छ, लोकगाथाहरूलाई जीवन्त राख्छ, गाउँटोलका नयाँ सदस्यहरूसित परिचित गराउँछ ।

अहिलेसम्मको मधेसी ग्रामीण जीवनमा कुनै चौतारो वा चिया पसलभन्दा बढी प्रभावकारी घुर देखिएको छ, कात्तिकदेखि लगभग आधा चैतसम्म । विकासदेखि विवादसम्मका कुरा पनि घुरले मिलाउने गरेको छ भने घुरले अनेक लोकगीत र लोकसंस्कृतिलाई बचाइराखेको छ । मधेसको ग्रामीण लोकजीवनको अभिन्न अंगको रूपमा रहेको घुरविना बसाइएको एकीकृत बस्ती अपांगतासहित जन्मेको बालकजस्तो हुन पुग्छ ।

गाउँघरका महिला आफ्नो माइतीमा कुनै विशेष कार्य (कसैको विवाह, छठियार, पूजा आदि) मा जाँदा माइतीको बाख्रा नसोधिकनै डो¥याएर हिँडिदिने चलन छ अर्थात् ग्रामीण जीवनको एउटा अंगको रूपमा पशुपालन पनि रहेको छ । बाख्रा, गाई, भैँसी आदि पाल्न ग्रामीण कृषकले अतिरिक्त समय मात्र खर्च गर्दछन् र जीवन धान्न पर्याप्त सहयोग प्राप्त गरेका हुन्छन् पशुपालनबाट । पशुपालनलाई पूर्ण व्यवसाय वा मुख्य व्यवसाय नबनाइकन अधिकांश कृषक परिवार नङ र मासुजस्तै जोडिएका हुन्छन् ।

मधेसमा एकीकृत ग्रामीण बस्ती निर्माण गर्दा यस प्रकारको नङ र मासुको सम्बन्धलाई अलग्याउनु हुँदैन । हाँस, कुखुरा र परेवा पालनले पनि ग्रामीण जनजीवनको अर्थतन्त्रमा निकै सकारात्मक योगदान दिएको हुन्छ । मूल व्यवसायकै रूपमा यस प्रकारको पन्छी पालन नभए पनि कतिपय परिवारले कुखुरा र परेवा पालनलाई सहायक रूपमा आयको स्रोतको रूपमा बनाउन सकेको देखिन्छ ।

साधारण कृषि मजदुर वा कृषक परिवारले वर्षको प्रायः हरेक महिनाको कम्तीमा एकतिहाई दिन आफैले उब्जाएको तरकारी खान्छन् । जमिन कम हुनेले घरको बलेसीमै लहराजन्य तरकारीको बेर्ना उमारेर घरमाथि लहरा चढाउँछन् । करेला, घिरौला, झिगनी, सिमी, फर्सी, कुभिन्डो, परवलजस्ता तरकारी उब्जाएर काम चलाउँछन् । भन्टा र खुर्सानीका दुई चार बोट आँगनमै पनि लगाउँछन् । दुई चार फूलका बिरुवा पनि लगाउने ठाउँ बनाइ राखे विभिन्न चाडपर्व मान्न अन्यत्र धाउनु पर्दैन भन्ने विचार गरेका हुन्छन् ।

ग्रामीण मधेसी समुदाय कृषि प्रधान समाज भएकोले वर्षभरिलाई चाहिने अन्न घरमै जोगाएर राख्ने चलन छ । अन्नपात तथा लुगाफाटो सुरक्षित राख्ने र वर्षभरि खाइने आलुजस्ता तरकारी पनि घरभित्र भण्डारण गर्न सक्ने पर्याप्त ठाउँ चाहिन्छ । सुन्दा खुद्रा–मसिना लाग्ने यस प्रकारका कुराहरूमा विचार पुर्याएर बस्ती बसाउन सकियो भने यस्तो घर वा बस्तीमा बस्ने परिवारलाई खासै समस्या नहुने देखिन्छ ।

मधेसको जनजीवनको आधारमा एकीकृत बस्तीको सन्दर्भमा चर्चा गरिएको भए पनि अधिकांश प्रसंग देशभर लागू हुने प्रकृतिका छन् । कसैले घर पाउँदा जीवनको महत्वपूर्ण आधार पाएको हुन्छ र त्यहाँबाट फेरि कुनै कारणले विस्थापित हुनु नपरोस् वा घरकै कारणले आफ्नो संस्कृति सहितको आत्म सम्मानमा वृद्धि होओस् भन्ने चाहन्छ ।

घरमा पुग्दा शारीरिक र मानसिकरूपले आनन्दको अनुभूति त्यतिवेला मात्र सम्भव हुन्छ जतिवेला घर उसको संस्कार, समाज र संस्कृतिको प्रकृति अनुरूपको हुन्छ । हरेक व्यवहारमा घरले साथ दिने किसिमको हुन्छ । अतः एकीकृत बस्तीको घरले कसैको घरको आवश्यकता पूरा गरेर बाँकी धेरै कुराबाट उसलाई वञ्चित गराउन पुग्ने वातावरणमा कालान्तरमा उसले आफूलाई खोज्न अन्यत्र जानुपर्ने हुन सक्छ । आधुनिक विज्ञान–प्रविधि र स्वास्थ्यको दृष्टिले पनि एकीकृत बस्ती वा सामूहिक गृह निर्माणतर्फ ध्यान पु¥याउन सके झनै राम्रो हुन सक्छ ।

प्रतिक्रिया