राष्ट्रपतिद्वारा वसन्त श्रवण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गरेकी छन् ।

हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेकी हुन् ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो । उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरे ।

गृहमन्त्री रामबहादुर थापा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकद्वय पनि वसन्त श्रवणका लागि हनुमानढोका पुगेका थिए ।

त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया