यसरी फसे ‘फेक’ युनिभर्सिटीको जालमा

वासिंगटन । अमेरिकी भिसा सेवा प्राप्त गर्न नक्कली युनिभर्सिटीमा भर्ना लिएका १ सय २९ भारतीय विद्यार्थीलाई केही समय अगाडि मात्र पक्राउ गरिएको थियो । यसरी यो घटनाले भविष्यलाई जोखिममा राखेर भए पनि विद्यार्थीहरूले आफ्नो बिदेसिने चाहना पूरा गरिरहेको देखाएको छ ।

वास्तवमा ‘फार्मिंटन युनिभर्सिटी’ सन् २०१५ मा विदेशी नागरिकहरूलाई पक्राउ गर्नका लागि स्थापित गरिएको थियो जो नक्कली विश्वविद्यालयसँग आबद्ध भएर विद्यार्थी भिसामा अमेरिका भित्रिँदै त्यसैमार्फत ‘वर्क पर्मिट’ अर्थात् काम गर्ने अनुमति प्राप्त गर्ने गर्छन् । यसरी विद्यार्थीहरूबाहेक आठजना नियुक्तकर्ता पनि पक्राउ परेका छन् ती पनि भारतीय नागरिक हुन् । भिसा ठगीमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट एजेन्सी, आइसिइले जनाएको छ ।

यसरी २०११ मा पनि स्थानीय अधिकारीहरूले क्यालिफोर्नियास्थित ट्रि–भ्याली युनिभर्सिटी बन्द गराएका थिए । अवैध भिसाका लागि विद्यार्थीहरूसँग शुल्क असुल्दै ठगी गर्ने गरिएको पत्ता लागेपछि त्यस्तो कदम उठाइएको थियो जसमा पनि धेरैजसो भारतीयकै संलग्नता रहेको बताइएको थियो । सन् २०१६ मा सिलिकन भ्याली युनिभिर्सटी पनि यस्तै कारणले बन्द भएको थियो । यसैगरी, सन् २०१६ मै आप्रवासनका एजेन्टहरूले न्यू जर्सीमा नक्कली युनिभर्सिटी स्थापित गरेको पाइएपछि चीन र भारतका २१ जना पक्राउ परेका थिए ।

तर, पनि यस पटकको स्टिङ अपरेसनलाई भने विवादास्पद मानिएको छ । कतिपय विद्यार्थी अन्जानमै ठगीको सिकार भएको भारतीय अधिकारीहरूको दाबीपछि दुई देशबीच कूटनीतिक विवाद सुरु भएको हो । अमेरिकाकै न्यायकर्मीहरूले समेत निदोर्ष विदेशीहरू ठगीएको हुन सक्नेबारे शंका व्यक्त गरिरहेका छन् । तर, यता अमेरिकी सरकारले भने सबै विद्यार्थीहरूले सो संस्थामा कुनै कक्षा सञ्चालन हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि भिसा सेवा प्राप्त गर्न भर्ना भइ कानुनको उल्लंघन गर्न खोजेको ठहर गरेको छ ।

यसरी जनवरी ३० मा भएको सो घटनाका वेला यसै फेक युनिभर्सिटीका विद्यार्थी, भिरेस (नाम परिवर्तन) क्यालिफोर्नियास्थित आफ्नो घरमा थिए र नक्कली अध्ययन संस्थानका विद्यार्थी पक्राउ परेको खबर सुन्ना साथ उनी भारत फरार भएका थिए ।

भिरेस भन्छन्, ‘म कुन कुरामा विश्वास गरौँ भन्नेबारे अन्योलमा थिएँ । मलाई त्यो केबल झुटो हल्ला मात्र हो जस्तो लागेको थियो तर अर्को दिन सबै खबर साँचो भएको समाचार बाहिर आयो ।’ त्यसैकारण आफू पनि पक्राउ पर्ने डरले तुरुन्तै अमेरिका छाडेर भारत गएको बताए ।
भिरेस पहिलोपटक सन् २०१४ मा अमेरिका पुगेका हुन् र पोलिटेक्निक युनभर्सिटीमा पढिरहेका थिए अनि त्यहीँबाट उनले २०१६ मा मास्टर्स डिग्री पनि हासिल गरे ।

तर, उनको युनिभर्सिटीले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित जस्ता विषयमा मान्यता गुमायो । तापनि उनी वर्क पर्मिटका लागि योग्य भइसकेका थिए । यस्तोमा उनले काम गर्न सुरु गरे र मान्यता प्राप्त अर्को युनिभर्सिटीमा भर्ना लिने निर्णय गरे । यसबीच उनलाई एक साथीले फर्मिंटन युनिभर्सिटीबारे बताए र २०१७ अक्टोबरमा एक नियुक्तकर्ताको सहायताले उनी त्यहाँ भर्ना भए । उनका अनुसार सो कलेजले प्रदान गरेका सबै जानकारी बारे उनले पूरा जाँच गरेका थिए ।

आफूले हेरेको वेबसाइटमा विद्यार्थीहरू कक्षामा बसेर पढिरहेको र पुस्तकायल लगायतका सुविधा पनि रहेको देखाइएको उनी बताउँछन् । उनका अनुसार उनले सो युनीभर्सिटीका डक्युमेन्ट अरू कलेजमा पढ्ने साथीहरूसँग पनि तुलना गरेर हेरेका थिए तर पनि त्यसमा केही गलत देखिएन ।

उनी भन्छन् , ‘मैले कक्षाका बारेमा सोध्न वेबसाइटमा राखिएको नम्बरमा पनि फोन गरेँ र उनीहरूले मलाई यसको तालिकाबारे खबर गर्ने बताएका थिए । यसरी ६ महिना बितिसकेपछि मैले फेरि मेरो साथीलाई ती नियुक्तकर्तासँग कुरा गर्न भनेँ । उनले हामीलाई एक व्यक्तिसँग सम्पर्क गराए जसले हामीलाई अनलाइन कक्षाहरूका लागि केही प्रणालीमा काम भइरहेको बारे बताए र कक्षा सञ्चालन भएपछि जानकारी गराउँछु भनेका थिए । ’

यसरी आफूलाई सो कलेजबारे कुनै शंका नभएकाले नै पढाइको शुल्कसमेत तिरेको र एक वर्षसम्म कक्षा सञ्चालन हुने पर्खाइमा रहेको उनी बताउँछन् । तर, अमेरिकी राज्य विभागले भने भिरेस जस्ता विद्यार्थीहरू अन्जानमा ठगीको सिकार भएको हुन सक्नेबारे अस्वीकार गर्दै आएको छ । भिरेसका अनुसार उनको परिवारले उनलाई पठाउन १५ लाख भारतीय रुपैयाँ ऋण लिएको थियो । यसरी पहिलो युनिभर्सिटीका लागि उनले ३० हजार डलर खर्च गरे भने फार्मिंटनलाई पनि २० हजार डलर बुझाएका थिए । यस्तोमा घर फर्किनका लागि पनि उनले साथीसँग पैसा माग्नु परेको बताउँछन् ।

यसैकारण आफूले अहिलेसम्म आमाबुबालाई किन घर आएको भनेरसमेत भन्न नसकेको उनी बताउँछन् जो किसान हुन् । ‘उनीहरूले अझै पनि म बिदामा आएको भन्ने सोचेका छन् । तर, वास्तवमा अहिले मसँग कलेजको ऋण तिर्न कुनै काम छैन । मेरो आमाबुबाले यो सब थाहा पाउनुभयो भने उहाँहरूले सहन सक्नुहुने छैन । किनकी म घरको एक मात्र छोरा हुँ र मैले डलर कमाएको हेर्ने उहाँहरूको ठूलो सपना छ ।

हाम्रो नाममा अहिलेसम्म कुनै घर वा जमिन छैन । त्यसैले, पनि म घर बनाएर उहाँहरूको ख्याल राख्न चाहन्छु । ’ यस्तोमा भिरेस अहिले हइदराबादमा जागिर खोजिरहेका छन् र फेरि अमेरिका फर्कनेबारे आशावादी रहेको बताउँछन् । यसरी भारतमा अधिकांश विद्यार्थीहरू स्थायी बसोबासको बाटो खोज्ने तर धेरै कमले मात्र युनिभर्सिटीको प्रतिष्ठाबारे ख्याल राख्ने गरेको पाइएको छ ।

वास्तवमा भारतीय विद्यार्थीहरूमाझ अमेरिका सबैभन्दा लोकप्रिय गन्तव्य मानिन्छ । सन् २०१७-१८ मा पनि विद्यार्थी भिसामा आउने विदेशीहरूमा चीन (३,७७०७०) र भारत (२,११७०३ं) सबैभन्दा अगाडि रहेको थियो । तर, पछिल्लो समय अमेरिकी नीतिमा कडाइ गरिएपछि भने धेरैलाई पढ्दै काम गर्ने व्यवस्था मिलाउन कठिन भइरहेको बताइएको छ ।

यस्तोमा धेरै विद्यार्थीहरू अहिले अस्ट्रेलिया र क्यानडा पनि छनोट गरिरहेका छन् जहाँ स्थायी बसोबासका निम्ति केही सहज नियम छन् । तर, पनि बिदेसिन हतार गर्ने धेरै विद्यार्थीहरू भिसा प्रक्रियाबारे राम्रो जानकारी नराखी कन्सल्टेन्सी र एजेन्टहरूमा मात्र निर्भर रहने गर्छन् । जसकै कारण उनीहरू ठगीको सिकार हुने गरेको बताइएको छ ।

प्रतिक्रिया