आइटी पार्कमा सेक्युरिटी प्रेस राखिन्छ: मन्त्री बास्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क) मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी पे्रस) राखिने बताएका छन् ।

बनेपा नगरपालिका–६ बूडोलमा आज शहीद सडकको शिलान्यास गर्दै मन्त्री बास्कोटाले भने, “आइटी पार्कमा आउँदो वर्ष सेक्युरिटी प्रेस राखिन्छ, यो राष्ट्रिय गौरवको योजना हो ।

उनले मन्त्रालयअन्तर्गतको उक्त पार्कमा राखिने सेक्युरिटी पे्रसमा पहिलो चरणमा पेपरवेस सेक्युरिट प्रिन्ट गरिने र दोस्रोचरणमा प्रविधि थपगर्दै प्लाष्टिक कार्डवेस प्रिन्टिङ गरिने जानकारी दिए ।

मन्त्री बास्कोटाले सेक्युरिटी पे्रसको निरन्तर क्षमता अभिवृद्धि गर्दै नोट, राहदानी, हुलाक टिकट, तथा डिजिटल कार्डलगायतका सामग्री छापिने बताए ।

उनले विकासको काम तीव्रताका साथ अगाडि बढेको बताए । विकासले गति लिएको छ, उनले थपे, “तपाईँहरु ढुक्क हुनुहोस् यो गतिले अब कहिल्यै विश्राम लिने छैन । उनले सडक, विद्यालय, विश्वविद्यालय, अस्पताल, सञ्चार प्रविधि लगायतमा देश समृद्ध बनाउने विकासका काममा सरकार दत्तचित्त रहेको बताए ।

मन्त्री बास्कोटाले बनेपा नपाको समग्र विकासमा हाललाई रु ६ करोड दिइएको र केही समयपछि रु चार करोड थपिदिने बताए । कार्यक्रममा प्रदेश नं ३ का सांसद बसुन्धरा हुमागाईँले शहीद मार्गका लागि प्रदेश सरकारले रु ५० लाख छुट्याइएको बताए।

सो अवसरमा बनेपा नपाप्रमुख लक्ष्मीनरसिंह वादे र नपा उपप्रमुख रेखा दाहालले विकासका हरेक योजनामा गुणस्तरलाई ध्यान दिने बताइन् ।

प्रतिक्रिया