कविता – ‘डोनाल्ड ट्रम्पको फ्रेन्ड रिक्वेस्ट’

बलराम तिमल्सिना

 

नोटिफिकेसन आइकनमा
थिचेको मात्रै के थिएँ
आएको रहेछ फ्रेन्ड रिक्वेस्ट
डोनाल्ड ट्रम्पको फेसबुकमा !

निकैबेर दोधारमा परेँ
यसो भनौँ–पत्याइँन !
फेक आइडी पनि त हुन सक्छ
यस्तै–यस्तै सोचेँ सोचिरहेँ
निकै दिन पेन्डिङमा बस्यो रिक्वेस्ट

मन मनै सोचेँ–यस्तो रिक्वेस्ट त
उत्तर कोरियाली ठिटाले पठाए पो
फेरि सोचेँ–
उत्तर कोरियाली ठिटोभन्दा
चम्पुत्ले छन् ट्रम्प !

केही दिनपछिको कुरो हो,
म्यासेन्जरको आइकनमा
पेन्डिङमा देखिए केही सन्देश
त्यसमध्ये एउटा रहेछ
मिस्टर डोनाल्डले नै लेखिपठाएछन्–
‘कृपया कविजी !
मलाई साथी बनाउनोस् न
म कविताको क्रेजी हो यार !
मलाई त्यताको कविता खुब मनपर्छ !’

कसरी चाल पाए डोनाल्डले
म पनि कवि हुँ, मैले लेखेका पनि कविता नै हुन
मेरै देशकाले नपत्याएको कवि म
कुरा घुमिरहे मनमा पानी घट्टझैं

आ ! जेपर्ला पर्ला यस्तो सोचेँ
र स्विकृति दिएँ साथी बन्न
डोनाल्ड कविता सुन्दै गए
वाहवाही पनि थमाउँदै गए
म पनि रमाउदै गएँ
पृथ्वीको नम्बर वान जेन्टलम्यान
जब मेरो कविताको फ्यान बन्यो
म झन्डै झन्डै बगिन
उन्मादको बाढीमा
जसरी बग्ने गर्छन्
कृतिम भाउले
मेरो देशका प्रायः कविहरू !

र एक दिन इन बक्समा
एउटा सरप्राइज आयो, गिफ्ट ह्याम्पर
जहाँ लेखिएको थियो
तपाई कवि महोदयलाई
अमेरिका आतुर छ स्वागत गर्न
यहीको वंशज नागरिक सरह
तपाईंलाई अधिकार हुने छ
सुख सुविधा ऐस आराम
सबै सबै हुनेछ, तपाईलाई प्राप्त हुनेछ
एउटा भव्य हवेली, केही नोकर चाकर
केही तरुनीहरू, विश्वका बहुचर्चित मदिराहरू
त्यहाँ बसेर तपार्इंले लेखिदिनुपर्ने छ
अमेरिकाको लागि कविता !

म विचारमग्न भएँ
सायद यसैगरी, छिरे होलान् हाम्रा थुप्रै नागरिक
नागरिकता च्यातेर अमेरिका
अर्थात् ड्रिम कन्ट्री

सरी मिस्टर ट्रम्प
म अमेरिका आउन सक्दिन
मेरो विवेकले पटक्कै भिसा दिँदैन मलाई
म तिम्रो देशको कविता
लेख्न पनि सक्दिनँ, लेख्दा पनि लेख्दिन
बरू एक दर्जन, मभन्दा नाम चलेका कविहरू
त्यतै नमस्कार गरेर बसेका छन्
तिनीहरूलाई लैजानुस्, मैले यस्तो उत्तर दिएँ !

एकाएक रिसाए ट्रम्प
थर्काउँन खोज्दै भने–
तँैले सिकाउनुपर्छ, मलाई थाहा छैन
तिनीहरू त मेरो खुट्टा मल्न पनि आउँछन्
साले आतंककारी कवि
तँलाई अमेरिका पचेन हैन ?
मैले भनेँ–हो
उनले भने– देखाइदिन्छु
मैले भने–मैले देखिसकेको छु
‘आइ हेट यु’,
वेलकम !
आइ थ्रेट यु
नो प्रोब्लम !

यो भनाभनपछि
मैले सुनेको छु–
म मिस्टर डोनाल्डको
हिट लिस्टमा छु, यौटा आतंककारी सेतो
अर्को आतंककारी रातो
यसरी मित्रता भो !
संवाद भयो, अर्थात् भनाभन भयो
र जे हुनु थियो त्यही भयो

म दर्जनौँ कविहरूको
अमेरिका पलायनको कुराले
सोचमग्न छु, यस्तै रिक्वेस्ट
उता पनि त आयो होला ?
को–को टिके होलान् ?
को–को बिके होलान् ?

निकै गाह्रो छ कवि भएर बाँच्न
नाथे कविलाई पनि एत्रो अफर !
एत्रो थ्रेट ! खासै चान चुने बाटो
म पनि हिँडिरहेको छैन सायद !

कविता
ढोंगी प्रवृत्ति
तुम्बेहाङ लिम्बू
उसले
खरो रूपमा नारी सम्मानको कुरा राख्छ
तर माइक्रोफोनमा मुख टाँसिरहँदा
आँखा भने नियन्त्रण बाहिर किन जान्छ ?
जब कि ऊ डायसमै उभिरहेको हुन्छ ।

उसले
पटक–पटक नारी अस्मिताको कुरा उठाउँछ
ओठको कविता, परेलीको गजल
नितम्बको विम्बात्मक गीत
यी कुराहरूविरुद्ध
खरो आलोचना गरिरहेको हुन्छ
तर, डायसमा ऊ कुर्लिरहेको वेला
किन उसको नजर
किशोरीहरूको यौवदानमा दुर्घटनाग्रस्त हुन्छ ?

उसले
ठूला–ठूला छापाहरूमा
नारी सम्मान र सांस्कृतिक विचलनको कुरा लेख्छ
केटी जिस्क्याउने, नारी होच्याउनेविरुद्ध
कलमको धार सोझ्याइरहेको हुन्छ
तर, अक्षरका सालिन पत्रहरूमा
हरफका मधुरा विम्बहरूमा
विचार सम्प्रेषणका कलात्मक प्रतीकहरूमा
किन उसको मनोविज्ञान
यौवन र यौनिकताको अब्स्ट्रयाक चित्र बनाउँछ ?
किन आफैँले आफँैलाई
मनमनै आत्मसमीक्षाको कठघरामा उभ्याउँछ ?

जब जब म यस्तो देख्छु
सायद यहीवेला पो मनभरि
घृणाको पहाड चुलिएको हो कि !
सायद यहीवेला पो मानव प्रवृत्तिविरुद्ध
आक्रोशको खहरे उर्लिएको हो कि !
यस बखत मलाई
आत्मसमीक्षाको कठोर भट्टीमा पस्न मन लागेको छ
सायद यहीवेला पो ढोंग र पाखण्डपनको
चिनीयाँ पर्खाल तोड्न मन लागेको हो कि !

प्रतिक्रिया