प्रियंकालाई आफ्नै सुन्दरता ‘दुश्मन’ !

एजेन्सी, नयाँ दिल्ली । हाम्रा वरिपरि हरेक समयमा सुन्दर अनुहारको प्रशंसा, सुन्दर नहुनुमा हीन भावना र सुन्दरता निखार्ने अनेक उपायको खोजी भइरहेको हुन्छ । अर्थात् जतिसुकै पढेलेखेकै भए पनि मानिसहरू भन्ने गर्छन् । काममा त सही छ तर थोरै सुन्दर भइदिएको भए अझै राम्रो हुने थियो ।

सुन्दरताको श्रेष्ठतासँग मलाई कुनै मतलब हुँदैन तर दुनियाँले मतलब राखिरहेको हुन्छ । यसकारण पनि कसरी सुन्दरता बोझ बनिदिन्छ भन्ने हेर्ने गर्दछु । हेर्दै राम्री छे, दिमाग अवश्य पनि बाँदरको जस्तै होला । हेर्दै राम्री छे त्यही भएर अवसर दिइएको होला । र, काम खासै केही गर्न सक्दिन किनकि, त्यसको अनुुभव भनेकै सुन्दरता हो ।

प्रियंका र मायावतीप्रति नेताहरूको टिप्पणी
प्रियंका गान्धीलाई कांग्रेस महासचिव बनाइएपछि यो दोहोरो मापदण्ड एकपटक फेरि देख्न पाइएको छ । उनी महासचिव बन्दै गर्दा भारतीय जनता पार्टीका केही वरिष्ठ नेताहरूको टिप्पणी यस प्रकार थिए ।  ‘लोकसभा चुनावमा कांग्रेस चकलेट जस्तो अनुहार अघि सार्दै छ । यसबाट उत्तर प्रदेशमा केवल एउटै फाइदा हुने छ कि कांग्रेसको चुनावी सभामा कुर्सीहरू खाली रहने छैनन् । भोट अनुहारको सुन्दरताको बलमा जित्न सकिँदैन ।’

महिला नेतृ ‘सुन्दर’ को परिभाषामा ‘फिट’ नभए इज्जत पाइन्छ भन्ने पनि होइन । बहुजन समाजवादी पार्टी (बसपा) प्रमुख मायावतीका लागि समाजवादी पार्टी (सपा) नेता मुलायम सिंह यादवले भनेका थिए, ‘के मायावती त्यति सुन्दर छिन् कि कसैले उनलाई बलात्कार गर्न चाहन्छ ?’

वसुन्धरा राजे सिन्धिया
राज्य सभा सांसद शरद् यादवले राजस्थानमा पूर्वमुख्यमन्त्री वसुन्धरा राजे सिन्धिया मोटी भएका कारण अब उनले आराम गर्न दिनुपर्छ भनेका थिए । अर्थात् केही फरक भने पर्दैन, कुरा यत्ति मात्रै हो कि राजनीतिमा महिलाहरूको पुरुषसँग तुलनामा हुन सक्दैन र महिलाका सन्दर्भमा उनीहरूले जस्तोसुकै तर्क पनि गर्न सकिन्छ भन्ने सोच भएका पुरुषको कुनै कमी छैन ।

राजनीतिमै अडिएका महिलाहरू
बेइज्जत गरिने, तपाईंकोे शरीरमाथि विना कुनै संकोच मनमा लागेको कुरा गरिने र महिला भएकै कारण तपाईंको राम्रो कामको अवमूल्यन गरिने ठाउँमा के तपाईं जान चाहनुहुन्छ ? सायद, जान चाहनुहुन्न । तर, ती महिलाहरूलाई हेर्नहोस्, जो त्यो बाटोमा हिँडेका मात्रै होइनन् कि डटेर संघर्ष गरिरहेका छन् । छाला गोरो होस् अथवा कालो, तर त्यो छालालाई मोटो अवश्य पनि गरेका छन् ।

तुलनात्मक रूपमा भने अझै संख्या थोरै छ । पहिलो लोकसभामा ४ प्रतिशतबाट बढेर १६औँ लोकसभामा झण्डै १२ प्रतिशत महिला सांसद छन् । भारतको छिमेकी मुलुकमध्यको नेपालको संसद्मा ३८ प्रतिशत, बंगलादेश र पाकिस्तानमा २० प्रतिशत महिला छन् ।

भारतमा महिलालाई टिकट दिन हिच्किचाहट
भारतीय महिलाहरूलाई मतदात गर्ने अधिकार दशकौँ अघि भारत स्वतन्त्र हुँदै गर्दा मिलेको थियो । तर, मताधिकारसँगै राजनीतिको शक्तिशाली पदहरूमा उनीहरूको सहभागिता भने तय हुन सकेन । राजनीतिक दलहरू पुरुष–बहुल छन् । उनीहरू महिलालाई टिकट दिन हिच्किचाउँछन्, चाहे त्यो विधायक पद होस् अथवा सासंदको ।

सन् २०१४ को लोकसभा चुनावमा झण्डै ७ हजार ५ सय उम्मेद्वारहरू मैदान थिए, जसमध्ये केवल ८ प्रतिशत अर्थात् ५ सय मात्रै महिला थिए । ‘एसोसिएसन अफ डेमोक्र्याटिक रिफर्मस’ नामक संस्थाको विश्लेषणअनुसार तीमध्ये एकतिहाइ महिलाहरू स्वतन्त्र उम्मेद्वार थिए ।

प्रतिक्रिया