इँटाले गाउँमै रोजगारी

बसन्त लिम्बू, ताप्लेजुङ । याङवरक गाउँपालिका–१ नाङ्खोल्याङका हरि राई बिहान सबेरै उठ्छन् र नजिकै रहेको इँटा उद्योगतिर लाग्छन् । उद्योगमा पुग्नासाथ उनलाई भ्याइनभ्याई हुन्छ । इँटाका लागि माटो खन्नेदेखि लिएर इँटा तयार गर्नेसम्मको काममा दिनभर व्यस्त हुन्छन् र बेलुकी घर फर्कन्छन् । उनले तयार गरेको एउटा काँचो इँटाको मूल्य तीन रुपैँया छ । दिनमा दुईदेखि तीन सय वटा इँटा बनाउँछन् । प्रति इँटा उनले तीन रुपैँया पाउँछन् । यसरी उनको कमाई दिनमा ६ सयदेखि ९ सय रुपैँयासम्म हुन्छ । यही कमाइले आफ्नो घर व्यवहार चलाउँछन् ।

त्यही फ्याक्ट्रीमा उस्तै काम गर्छन् स्थानीय दुर्गा पौडेल । उनको पनि काम र कमाई राईको जस्तै छ । यसरी नै सो इँटा उद्योगमा दैनिक २५/२६ जनाले काम गर्दै आएका छन् । केही समय अघिदेखि याङवरक गाउँपालिका–१ मा सञ्चालनमा आएको उक्त मेवखा (एनकेजीएस) इँटा उद्योगमा स्थानीयलाई गतिलो रोजगार मिलेको छ । नजिकै रोजगार मिलेपछि स्थानीय मजदुरहरू पनि खुसी छन् । उद्योगमा कार्यरत प्रकास चापागाइँले भने, ‘सबै युवा पैसा कमाउन घरपरिवार छाडेर विदेशतिर जान्छन्, हामीलाई परिवारसँगै घरकै भात खाएर काम गर्न भ्याइनभ्याई छ, राम्रै कमाई हुन्छ, यही कमाइले घरव्यवहार चलाउँदै आएको छु, खुसी लाग्छ ।’

अर्का मजदुर जसबहादुर राई भन्छन्, ‘गाउँमै रोजगार पाउँदा धेरै खुसी छु ।’ यहाँ काम गर्नुअघि खोजीखोजी न्यून पारिश्रमिकमा घर बनाउने लगायतका काम गर्नुपर्ने उनीहरूको बाध्यता थियो । विगत झन्डै सात वर्षदेखि सञ्चालनमा आएको उक्त उद्योगमा स्थानीयले रोजगार पाउँदै आएका हुन् । केही वर्ष परम्परागत भट्टी लगाएर इँटा बनाउने गरिएकाले सानो संख्याले मात्र रोजगार पाए पनि गत वर्षदेखि आधुनिक भट्टी बनाएर इँटा उत्पादन गर्न थालिएपछि धेरैले रोजगार पाएका छन् । अहिले उक्त उद्योग रहेको क्षेत्र इँटाले भरिएको छ । झन्डै चार रोपनी क्षेत्रफलमा इँटाको लाइन लगाइएको छ । सबै मजदुर दिनभरजसो भ्याइनभ्याई देखिन्छन् ।

उद्योग सञ्चालक स्थानीय ठाकुरप्रसाद महतारा भन्छन्, ‘पहिला थोरैले काम पाउँथे तर अहिले धेरैले काम पाएका छन्, आठ जना त नियमित काम गर्ने कामदार छन्, उनीहरूलाई मासिक १८ हजार दिएर काम लगाएको छु ।’ स्थानीय मजदुरलाई मात्र होइन उद्योग सञ्चालकको पनि इँटाबाट राम्रै कमाइ छ । दैनिक १२ सय देखि १८ सय सम्म इँटा उत्पादन हुन्छ । उद्योगबाट नै प्रति गोटा १८ रुपैँयामा बिक्री हुँदै आएको सञ्चालक महताराले बताए । उनले भने, ‘सुरुसुरुमा नभए पनि अहिले राम्रै कमाइ हुन्छ ।’ जहाँ जे को सम्भावना छ त्यही काम गरे सबैलाई फाइदा हुने महतारा बताउँछन् । ‘यहाँ इँटाका लागि उपयुक्त ठाउँ थियो हामीले इँटा उत्पादनकै काम ग¥यौँ, यसले केहीलाई रोजगार पनि मिलेको छ, आपूmलाई पनि कमाइ भएको छ, सबैले यसरी नै लाग्ने हो भने किन विदेश जानुप¥यो ।’

यहाँ उत्पादन भएको इँटा अहिले जिल्लाभित्रै खपत भइरहेको छ । सञ्चालक महतारा भन्छन्, ‘अहिले यहाँको उत्पादन जिल्ला बाहिर गएको छैन्, नयाँनयाँ भएकाले अन्य ठाउँबाट माग भएको छैन तर विस्तारै छिमेकी जिल्लातिर पु¥याउने हाम्रो योजना छ, हाल दैनिक दुई÷तीन गाडीसम्म जिल्लाभित्रै गइरहेको छ ।’ स्थानीय स्तरबाट भएको उत्पादनलाई महत्व दिन उनले सबैलाई आग्रहसमेत गरेका छन् । उनी भन्छन्, ‘राज्यस्तरबाट पनि बजारीकरण र गुणस्तर बढाउने कार्यमा सहयोग हुनुपर्छ ।’ भूगोल र कच्चा पदार्थ उपलब्धताका आधारमा सम्भाव्यता अध्ययन गरी सर्वसाधारणलाई उत्पादनशील कार्यमा आकर्षित गर्नसके मुलुकर्क अर्थतन्त्रमा सुधार हुनेसमेत उनको विस्वास छ ।

प्रतिक्रिया