नेपाली महिला दृष्टिविहीन क्रिकेटको सफलता : संयुक्त राष्ट्र संघ पनि खुसी

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपाल तथा पाकिस्तानका महिला दृष्टिविहीन क्रिकेट खेलाडीबीच भएको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली टोलीले पाएको सफलताप्रति खुसी व्यक्त गरेको छ । सिरिज जित नेपाली महिला टोली स्वदेश फर्केकै दिन नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले एक विज्ञप्ति जारी गर्दै खुसी व्यक्त गरेको हो ।

‘नेपाल महिला दृष्टिविहीन क्रिकेट टोली यस सिरिजमा विजयी भएर बिहीबार ट्रफीसहित घर फर्केकोमा बधाई दिन पाउँदा युनिसेफ, युएनडिपी, युएनएफपिए, युएनवुमेन र स्वीस सरकार विकास सहयोग निकै हर्षित छ,’ संयुक्त राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यी प्रतियोगिताहरूले महिला दृष्टिविहीन क्रिकेट खेलाडीहरूको सीप वृद्धि, आत्मबल विकास र परिवर्तनका वाहकका रूपमा काम गर्नका लागि उनीहरूको सशक्तीकरणमा सहयोग पुर्याउन सक्यो भन्ने विश्वास लिएका छौं ।’

नेपाली महिला दृष्टिविहीन क्रिकेट टोलीको प्राप्त गरेको विजयले खेलकुदले अपांगता भएका व्यक्तिहरूको सीप र क्षमतालाई मुख्य रूपमा प्रकाश पारेर उनीहरू विरुद्धको हेय र विभेद कम गर्न सहयोग गरेको राष्ट्रसंघले जनाएको छ ।  अपांगता भएका महिला तथा बालिकाहरूले प्रायः बहुसामाजिक अवरोधहरूको सामना गर्नुपर्ने र नेपालभरी पनि अपांगताका आधारमा विभेद हुने गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २०१८ मा प्रकाशित युएनएफपिएको रिपोर्टअनुसार अपांगता भएका महिलाहरूले अपांगता नभएका महिलाभन्दा झन्डै १० गुणा बढी लंैगिकतामा आधारित हिंसाको सामना गर्नुपरेको विज्ञप्तिमा जनाइएको छ ।

‘खेलकुद एक यस्तो मञ्च हो, जसले अपांगता भएका महिला तथा बालिकाहरूको शारीरिक क्षमता दर्शाउने अवसर प्रदान गर्नुका साथैउनीहरूको पूर्ण क्षमताको अनुभूति गराएर र लैंगिकतामा आधारित विद्यमान रूढिवादलाई हटाउन मद्धत गरेर उनीहरूको जीवन परिवर्तन गर्नसक्छ,’ विज्ञप्तिमा नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक भ्यालेरी जुलियाण्डको भनाइ उद्धृत गरिएको छ ।
अपांगता भएका महिला विरुद्धका नकारात्मक धारणाबाट समाजलाई मुक्त बनाउने यस प्रयासमा नेपालले पछिल्लो समयमा उल्लेख्य प्रगति गरेको समेत राष्ट्रसंघले जनाएको छ । विशेषगरी नयाँ संविधान र अपांगता भएका व्यक्तिका अधिकारसम्बन्धी ऐन २०७४ लगायत धेरै कानुनमा सुधार गरिएको राष्ट्रसंघले आँैल्याएको छ ।

‘एक सामान्य जीवनको नेतृत्व गर्न पाउनु अपांगता भएका व्यक्तिहरूको हक हो । अपांगता भएका व्यक्तिहरूप्रति समाजको नकारात्मक हेराइलाई बदल्नका लागि नयाँ क्षमता अधिकार नियमका साथै सफलताका कथा र उदाहरणहरूका बारेमा पनि जानकारी बढाउन जरुरी छ,’ विज्ञप्तिमा नेपालका लागि स्विजरल्यान्डका राजदूत एलिजाबेथ भनक्यापेलरको भनाइ उद्धृत गरिएको छ ।

प्रतिक्रिया