लगातारको हिमपातले हुम्ली जनजीवन कष्टकर (फोटो फिचर)

लक्ष्मी रोकाया, हुम्ला । हुम्लामा हिजो रातीबाट लगातार हिमपात सुरु हुँदा अझ कष्टकर जीवन अति नै कष्टकर भएको छ । हिमपातले हुम्लाका अधिकाँश वस्तीमा चिसो अत्याधिक बढाएको छ । चिसोले गर्दा स्थानियलाई घर बाहिर निस्कन समेत मुस्किल भएको छ । एक पटक परेको हिउँ पग्लन नपाउँदै अर्को पटक लामो समय सम्म हिउँ पर्दा दैनिक जनजिवन प्रभावित भएको छ ।

यस अघि करिब ५ फिट हिउँ जमेको बिलाउन नपाउँदै पुःन सुरु भएको हिमपातले स्थानियलाई थप समस्या बनाएको छ । चैत्रमा एस्ईई परीक्षा तयारी गर्नको लागि सदरमुकाम सिमकोट बसेका परीक्षार्थीलाई अझ बढी समस्या बनाएको छ । खाना पकाउनको लागि दाउरा हिउँले पुरेको, बत्ति नियमित आपुर्ती नभएको कारण उनीहरुलाई समस्या परेको हो । अत्याधिक चिसोको कारण पढ्न नसकिएको परीक्षार्थीले बताउने गरेको छन् । खुला कक्षा कोठामा ट्युसन कक्षा लिनको लागि थप समस्या हुने गरेको छ ।

हिमपातले माइनस १८ सम्म पुगेको तापक्रम अझै बढ्न सक्ने अनुमान मौसम विदले गरेका छन् । जाडोले दीर्घरोगीलाई समस्या बनाएको छ । दम, निमोनिया लगायतका रोगीलाई गाह्रो बनाएको छ । घर भन्दा बाहिर निस्कन समेत कठिन भएको अवस्था रहेको छ । पानीका मुहान बाहेक खानेपानीको धारामा पानी जमेर बरफ नै बनेको छ । सदरमुकामसँग अझै पनि दक्षिणका सर्केगाड, चंखेली, अदानचुली, ताँजाकोट र उत्तरी नाम्खा गाउँपालिका पूर्णरुपमा सम्पर्क विच्छेद अवस्थामा रहेका छन् । हिमपात अझै केही दिन लम्बिन सक्ने मौसमविदले बताएका छन् ।

हिमपातको कारण जिल्ला बाहिर काम विशेषले जाने यात्रुले यात्रा गर्न पाएका छैनन् । एक मात्र रहेको यातायातको साधन हिमपातको कारण रोकिए पछि यस्तो समस्या भएको हो । हुम्लामा जिल्ला बाहिर जानको लागि सबैले यस्ता समस्या भोग्ने गरेका छन् । विरामी र अन्य काम भएका हुम्लीको लागि भने समस्या भएको छ । विमानस्थलमा हिउँ बाख्लो जम्न सक्ने अनुमान भएको छ । अघिल्लो हिमपातमा स्थानिय, गाउँपालिकामा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, अन्य कर्मचारीले विमानस्थलको हिउँ हटाएर विमान सेवा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया