गोदानले राजधानी बोलायो सरकारी चिकित्सक

काठमाडौं । सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले देशभर कार्यरत सरकारी चिकित्सकलाई काठमाडौंमा बोलाएको छ । सबैलाई राजधानीमा आई भेला हुनको लागि बुधबार विज्ञप्ति निकाल्दै आह्वान गरेको हो ।

संघीयता कार्यान्वयन र समायोजनको सन्दर्भमा पुस २९ गते सरकारसँग भएको सहमति कार्यान्वयनमा कुनै चासो नदिएको भन्दै संघले सरकारमाथि दबाब बढाउन आफ्ना सदस्यहरूलाई केन्द्रमा भेला हुन आह्वान गरेको हो ।

सम्झौतामा चिकित्सक तथा अधिकृत तह भन्दा माथिलाई संघ अन्तर्रगत राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने भनेको थियो । गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेद्धारा जारी विज्ञप्तीमा सरकारले आफूहरूसंग गरेको सम्झौता कार्यान्वयनमा सुस्त गति र समायोजन प्रक्रियालाई द्रुत गतिमा अघि बढाउँदा यसले सम्झौता विपरीत हुन सक्ने आशंका उब्जिएको उल्लेख छ ।

संघले सरकारसँग भएको सहमति कार्यान्वनय नभई संघीयता कार्यान्वयन भएमा चिकित्सकलाई उच्च तह अध्ययन, तालिम बृति विकासमा दीर्घकालिन असर पर्ने, हालको दरवन्दी तेरिज र संगठन संरचनाअनुसार भए आफूभन्दा कनिष्ठ कर्मचारीको मातहतमा बस्नुपर्ने, माथिल्लो अस्पतालमा सरुवा र बढुवामा असर पर्ने भन्दै सदस्यहरूलाई सचेत गराएको छ ।

संघले सदस्यहरूलाई एकजुट भई सहमति कार्यान्वयनमा दबाब नदिए मन्त्रालय जागरुक नहुने भन्दै यसले स्वास्थ्य संस्थामा झनै समस्या निम्तिने जनाएको छ । संघले प्रशासन तथा अन्य सेवाका अधिकृतस्तरका कर्मचारीलाई संघमै राख्ने तर चिकित्सकलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्न क्रियाशील भएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिक्रिया