‘बुट्टे रुमाल’ युट्युब ट्रेन्डिङमा

काठमाडौं  । लोकदोहोरी गायक विमलराज क्षेत्रीको नयाँ गीत ‘बुट्टे रुमाल’ युट्युबमार्फत सार्वजनिक भएको छोटो समयमै ट्रेन्डिङमा परेको छ । गायक क्षेत्रीको पुरानो एल्बम ‘सुपारी चाम्रो भाग–२’ मा रहेको उक्त गीतमा गायिका अञ्जु पन्त र गायक क्षेत्रीकै आवाज रहेको छ ।

गीतकार एकनारायण भण्डारीले उक्त गीतको संगीत तथा शब्द सिर्जना गरेका छन् । गीतको भिडियोमा गायक क्षेत्रीले अभिनेत्री प्रियंका कार्की र गम्भीर विष्टको अभिनय छ । भिडियोको निर्देशन गम्भीरले नै गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा नवीन निरौलाले सम्पादन गरेका छन् ।

गत शुक्रबार मात्रै म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीत छोटो समयमै ट्रेन्डिङमा पर्नुमा दर्शक स्रोताको मायाले सफलता प्राप्त गरेको गायक क्षेत्रीले बताएका छन् । उनले भने, ‘गीतले नेपाली मौलिकतालाई समेटेको छ । दर्शक÷स्रोताको मायाले हामीले गीतमा सफलता हासिल गर्न सकेका हौँ ।’

गीतमा फरक ढंगबाट नयाँपनसहित मौलिकतालाई ध्यान दिइ शब्दमा उतारिएको गीतकार भण्डारीले जिकिर गरे । ‘सुपारी चाम्रो भाग–१’ को पनि गीतकार भण्डारीले नै संगीत तथा शब्द सिर्जना गरेका थिए ।

प्रतिक्रिया