चीन र बंगलादेश जान नयाँ मापदण्ड

काठमाडौं । चीन र बंगलादेशमा चिकित्साशास्त्र अध्ययन् गर्न जाने विद्यार्थीका लागि नयाँ मापदण्ड बनाउन नेपाल मेडिकल काउन्सिलले शिक्षा मन्त्रालयलाई पत्र पठाएको छ । काउन्सिलले चीनमा चिकित्साशास्त्र अध्ययन गर्न जानेहरूले चिनियाँ भाषामै चिनियाँ विद्यार्थीसरह पढ्नुपर्ने र बंगलादेशमा सरकारी मेडिकल कलेजमा पढ्न जानेहरूका लागि मात्रै स्वीकृति दिने मापदण्ड बनाउन डेढ महिना अघि पत्र पठाएको हो ।

शिक्षा मन्त्रालयले भने हालसम्म पनि उक्त प्रश्नको जवाफ काउन्सिललाई दिएको छैन । काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बास्कोटाका अनुसार नेपाली विद्यार्थीहरू चीनमा अग्रेजी माध्यमबाट चिकित्साशिक्षा अध्ययन गर्न गएको भन्दै उनीहरूको गुणस्तर कमजोर पाइकाले चिठी पठाएको बताए ।

‘चीनमा उपकरण छ, विरामी पनि छन्, तर चिनियाँहरू अंग्रेजी बोल्दैनन्’ उनले भने, ‘चिनियाँ भाषा नजान्दा अंग्रेजी माध्यमबाट पढ्नेहरूले विरामीसँग हेलमेल हुन सक्दैनन्, पढ्ने विद्यार्थीको कुरा न बिरामीले बुझ्छ न त बिरामीको कुरा पढ्ने विद्यार्थीले नै । त्यसैले चिनियाँ भाषामा अध्ययन गर्न जानेलाई मात्रै पठाउनु भन्दै पत्र पठाएका हौँ ।’

प्रा.डा. बास्कोटाले बंगलादेशमा सरकारी मेडिकल कलेजमा पढ्न जानेलाई मात्रै स्वीकृति दिन भनेको जनाएका छन् । उनले थपे, ‘त्यहाँ करीब २५ वटा जति सरकारी मेडिकल कलेज छ । करीब एक सयको हाराहारीमा निजी मेडिकल रहेछ । हाल त्यहीको मेडिकल काउन्सिल र बोर्डले तीन दर्जन बढी निजी मेडिकल कलेजलाई ब्ल्याक लिष्टमा राखेको छ ।

ती कलेजमा पहिले देखि नै अध्ययनका लागि गएका करिब ६–७ सय नेपाली विद्यार्थीहरू फसेका छन् ।’ त्यसैले अब बंगलादेशमा अध्ययन गर्न जान चाहनेले सरकारी कलेजमा मात्रै जान पाउने निर्णय गरी सरकारलाई सो कदम चाल्न सल्लाह दिएको उनले बताए ।

पछिल्लो समय चीन र बंगलादेशमा अध्ययन् गरी फर्केका धेरै विद्यार्थीहरू लाइसेन्स परीक्षामा फेल हुने गरेको भन्दै उनले भने, ‘लाइसेन्स परीक्षामा एक पटक होइन, पटक–पटक फेल हुनेहरूको संख्या चीन र बंगलादेशबाट नै अध्ययन पुरा गरी फर्केकाहरू बढी देखियो । त्यसैले अब नयाँ विद्यार्थीलाई समस्या नहोस् भन्नका लागि हामीले यो सुझाव दिएका हौँ ।’

प्रतिक्रिया