कांग्रेसद्वारा नेताहरूको रिहाइको माग

पोखरा । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिका शिक्षा शाखाको जिपमा आगजनी गरेको आरोपमा शनिबार पोखरामा पक्राउ गरिएका नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरूलाई तत्काल रिहाई गर्न माग गरेको छ ।

प्रशासनद्वारा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई गिरफ्तार गरिएको घटनाको घोर भत्र्सना गर्दै तत्काल ससम्मान रिहाई गर्न माग गरेको हो । कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा विद्यार्थी नेताहरूलाई रिहाई नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

नेविसंघको केन्द्रीय कार्यक्रमअन्तर्गत सार्वजनिक बिदाको दिन गाडी चलाएको आरोपमा विद्यार्थीले पोखरा महानगरपालिको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा पेट्रोल छर्केर आगजनी गरेको आरोपमा विद्यार्थी नेताहरू लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेललाई पक्राउ गरिएको थियो ।

यसैगरी नेपाली कांग्रेस कास्कीले २१ माघ सोमबार पोखरामा गर्ने विरोध प्रदर्शनको तयारी पूरा भएको जनाएको छ । पोखराको पृथ्वीचोकबाट सुरु हुने प्रदर्शन न्युरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत हुने कास्की कांग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

उनले सरकारलाई खबरदारी गर्नका लागि प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । कोणसभालाई कांग्रेस नेता गगन थापाले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया