संगीतमा छलाङ मार्दै विशाल

                                                                     विशाल निरौला, गायक, संगीतकार, एरेञ्जर, गीतकार

बाबुराम सिग्देल, काठमाडौं । इलामको दानाबारीमा जन्मिएका गायक, संगीतकार, एरेञ्जर, गीतकार विशाल निरौलाको बाल्यकाल झापाको शरणामति गाविसमा बित्यो । सानैदेखि रेडियो तथा टेलिभिजनमा बज्ने गीतले उनलाई तानिरहन्थ्यो । उनले यी गीत ध्यानपूर्वक सुन्ने र गुनगुनाउने पनि गर्थे ।

आफूलाई स्कुले जीवनदेखि नै गीत संगीतको मोहले तानेको बताउने विशाल जिल्लामा हुने मेला महोत्सवका विभिन्न कार्यक्रममा भाग लिन्थे । यस्ता कार्यक्रमले उनमा सधैं उत्पे्ररणा थप्थ्यो । झन् झन् उनलाई यस क्षेत्रमा सक्रिय भएर अगाडि लम्किन उत्प्रेरित गरायो । घरपरिवारबाट र आफूलाई पढाउने शिक्षकहरूको ठूलो हौसला स्कुले तहबाटै प्राप्त भएको स्मरण गर्दै आफ्ना गुरुहरू र परिवारलाई सम्झिन्छन् विशाल । त्यही हौसालाको कारण झापाकै दमकमा संगीत सिक्न उनले सुरु गरे । संगीत सिक्दै र गीत गाउदै जाँदा उनको आवाजमा निखार आउनुका साथै राम्रो संगीतकार पनि बन्दै गए । श्री जनता उच्च माविबाट ०६५ सालमा एसएलसी उत्तीण गरेपछि झापामा मात्रै संगीत सिकेर यो क्षेत्रमा परिपक्क हुने उनले बुझे र औपचारिक रूपमै गीत संगीत सिक्नका लागि उनी काठमाडौं हानिए ।

राजधानीमा आएपछि उनले कलाकारसँग हिमचिम बढाउँदै लगे । उनले सप्तरंजनी संगीत विद्यालयमा संगीतको अध्ययन गरे । आधुनिक र चलचित्रका गरेर करिब आधा दर्जनको हाराहारीमा गीत गाएका उनले र पाँच सयभन्दा बढी गीतमा शब्द सिर्जना गरेका छन् । कलाकर्मबाटै जीवनको यायावर यात्रालाई सहज बनाउने संकल्पका साथ उनले गीत संगीतलाई करिअरको रूपमा अगाडि बढाए । यही क्षेत्रमा आफूलाई स्थापित गर्ने अठोट बोकेर उनले विगत तीन वर्षदेखि काठमाडौंको अनामनगरमा ‘अलंकार’ रेकर्डिङ स्टुडियो सञ्चालन गर्दै आइरहेका छन् । आधुनिक, चलचित्र, लोकदोहोरीलगायतका गीत उक्त स्टुडियोमा रेकर्ड हुने उनी बताउँछन् ।

‘धेरैजनाको सहकार्यमा सञ्चालन गर्नुभन्दा जेजसो परे पनि कुनै चिन्ता नहुने र समस्या आइलागे पनि आफैँले समाधान गर्न सहज हुने भएकाले मैले एकल रूपमा स्टुडियो चलाएको छु,’ संगीतकार निरौलाले भने । आफ्नो कर्मलाई व्यवसायमा जोडेर जीवनयापनमा सहजता ल्याउन स्टुडियोले साथ दिएको उनी बताउँछन् । उनी बिहानदेखि बेलुकासम्म निरन्तर स्टुडियोमै व्यस्त रहँदै आएको बताए । दिनहुँ गीत रेकर्ड गर्नदेखि गीत संगीतका बारेमा त्यहाँ बहस छलफल हुने गरेको उनले सुनाए । देशका चलेका गायक, संगीतकार, गीतकार लगायतका शुभेच्छुकको जमघट हुने उनको स्टुडियोमा नेपाली सांगीतिक क्षेत्रको विकास र प्रवद्र्धनका बारेमा समेत चर्चा हुने गर्छ ।

बाल्यकालदेखिको आफ्नो रुचिको विषय भएकाले यस क्षेत्रबाट आफूलाई सोचेको भन्दा बढी सन्तुष्ट मिलेको उनले बताए । २५ वर्षीय विशालले एक दशकदेखि राजधानीलाई कर्मथलो बनाएर आफ्नो कर्ममा लागेका छन् । उनले पहिलाको तुलनामा नेपाली सांगीतिक क्षेत्र फराकिलो बन्दै गएको बताए । उनले भने, ‘समयको माग र प्रविधिको विकासले गीत संगीतका क्षेत्रमा नयाँपनको सुरुआत भएको छ । पुरानो र नयाँ पुस्ताबीचको सिर्जनात्मक बहसले नेपाली संगीत क्षेत्रलाई प्रगतिपथमा पु¥याउनेमा उनी विश्वस्त रहेको बताए ।

प्रतिक्रिया