चीनसँगका वार्तामा उल्लेखनीय प्रगति : ट्रम्प

एजेन्सी, वासिंगटन । संयुक्तराज्य अमेरिका र चीनबीच वासिंटनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुवै देशका प्रतिनिधिहरूले बताएका छन् । चीन र अमेरिकाबीचको ‘व्यापार युद्ध’ नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच जी–२० बैठकको अवसरमा अर्जेन्टिनाको ब्युनस आयर्समा भएको भेटवार्तामा दुबै मुलुकबीच तीन महिने व्यापार युद्धविराम घोषणा गरिएको थियो ।  आगामी मार्च १ तारिखभित्रै वार्ताद्वारा नयाँ सहमति नभए अमेरिकाले २०० अर्ब डलर बराबरका चिनीयाँ सामानमा हाल लाग्दै आएको १० प्रतिशत करलाई वृद्धि गरी २५ प्रतिशतसम्म बनाउने घोषणा गरेको छ ।

दुवै देशका व्यापार प्रतिनिधिबीच वासिंगटन डिसीमा जारी वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी चिनफिङले लेखेको पत्र निकै स्वागतयोग्य रहेको पनि बताए । चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले पनि दुवै देशका व्यापार प्रतिनिधिबीच दुई दिनको वार्तामा ‘महत्वपूर्ण प्रगति’ भएको जनाएको छ । व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल वासिंगटन आएको छ ।

अर्थशास्त्रीहरूको भनाइमा आगामी मार्च १ तारिखको समयसीमाभित्र दुबै मुलुकबीच सम्झौता नभए त्यसले विश्व अर्थतन्त्रमा ठूलै नोक्सानी गर्नेछ । चिनीयाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको पत्र चिनीयाँ प्रमण्डलले पढेर सुनाएको थियो । पत्रमा चिनीया राष्ट्रपतिले दुबै मुलुकबीचको सम्बन्ध अहिले ‘गम्भीर मोडमा’ आएको चर्चा गर्दै परस्पर सम्मानका आधारमा दुवै मुलुकले मिलेर कार्य गरिने उल्लेख छ ।

जवाफमा राष्ट्रपति ट्रम्पले दुवै मुलुकबीचको सम्बन्ध ज्यादै राम्रो रहेको बताए । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टीभन मन्चिनले आगामी फेब्रुअरीको मध्यमा अर्को चरणको वार्ताका लागि चीनको भ्रमण गर्नेछन् । सिन्ह्वाका अनुसार, राष्ट्रपति ट्रम्पले व्यापार वार्ता सम्पन्न भएपछि चिनीयाँ राष्ट्रपतिलाई भेट्ने बताएका छन् । त्यसपछि दुवै मुलुकबीच व्यापार सम्झौता हुनेछ ।

‘सहमतिका बुँदाहरूलाई लिपिबद्ध गर्नु आवश्यक छ । हामीले अझै केही बुँदामा सहमति जनाइसकेका छैनौं । मेरो विचारमा त्यसमा सहमति हुनेछ । मेरो विचारमा म र राष्ट्रपति सीबीच भेटघाट हुनासाथ सबै बुँदामा सहमति हुनेछ,’ राष्ट्रपति ट्रम्पले बताए ।  चीनको अर्थतन्त्रमा निकै मन्दी आइसकेको र बजार खुम्चिएका कारण पनि वार्ताको महत्व अझ बढेको छ । गत वर्ष, वासिंगटन र बेइजिङले एकअर्का मुलुकका ३ सय ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका थिए ।

चिनीयाँ गलत व्यापार अभ्यासलाई लिएर राष्ट्रपति ट्रम्पले चीनविरुद्ध व्यापार युद्ध नै सुरु गरेका थिए । व्यापार वार्ताको समयावधि बढाउने सम्भावनका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘मार्च १ तारिखको समयसीमा बढाउने बारेमा हामीले कुरा गरेका छैनौँ । मेरो विचारमा तोकिएकै समयभित्र दुई देशबीच सम्झौता हुन्छ ।’

यसैबीच, चिनीया वार्ता टोलीको नेतृत्व गरिरहेका चिनीयाँ उपप्रधानमन्त्री लिउ हेले राष्ट्रपति ट्रम्पसँग बिहीबार भेटवार्ता गरेका छन् । उनले प्रति दिन थप पचास लाख टन भटमास (सोयाबिन) खरिद गर्न चीन तयार रहेको राष्ट्रपति ट्रम्पलाई जानकारी गराएको थिए ।  जवाफमा राष्ट्रपति ट्रम्पले चीनको यस कदमले अमेरिकी किसान खुसी हुने बताए । बेइजिङले यसअघि नै अमेरिकी सोयाबिन खरिद गर्न थालिसकेको छ । अमेरिकाबाट ठूलो परिमाणमा सोयाबिन चीन निकासी हुने गरेको छ ।

प्रतिक्रिया