अमेरिकालाई चीनको आग्रह अरूका प्रगतिमा खुला बन

एजेन्सी, बेइजिङ । अमेरिकालाई अरूको प्रविधि विकास र प्रगतिमा खुला तथा समावेशी दृष्टिकोण राख्न चीनले अमेरिकालाई आग्रह गरेको छ । अमेरिका विश्वको एक नम्बर प्राविधिक शक्ति हो तर उसले आफ्नो मात्रै विकासलाई फैलाउने र अन्य मुलुकको प्रगतिका लागि स्थान नदिने गर्न नहुने चीनले आफ्नो धारणा सार्वजनिक गरेको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले सञ्चारकर्मीलाई चिनियाँ धारणा स्पष्ट पारेका हुन् ।

स्वाङको उक्त प्रतिक्रिया चीन–अमेरिकाबीच व्यापारबारे वासिङटनमा वार्ता चलिरहेकै वेला आएको हो । अमेरिकी सिनेट सेलेक्ट कमिटी अन इन्टिलिजेन्सका उपप्रमुख मार्क वार्नर तथा सिनेटमा अल्पसंख्यक समुदायका नेता चाल्र्स स्कुमरले बुधवार मात्रै चीनलाई प्रविधिमा बौद्धिक चोरी गरेको आरोप लगाएका हुन् ।

अमेरिकाले अन्य मुलुकमाथि प्रविधि विकास र प्रगतिमा जानीजानी गलत आरोप लगाउनु अविवेकी काम भएको उनले बताए । ‘चीनको प्राविधिक विकास चोरेर वा लुटेर आएको होइन । यो त चिनियाँ जनता र वैज्ञानिकको कडा मेहनत र ज्ञानको उपज हो’, उनले सञ्चारकर्मीलाई भने । प्रतिस्पर्धा बजार अर्थतन्त्रको प्रतिस्पर्धाको महत्वपूर्ण विशेषता भएको बताउँदै कङले अमेरिकालाई बढी वस्तुगत एवं सही रूपमा हेर्न र सम्झौताबाट अघि बढ्न आग्रह गरे ।

चीन र अमेरिकाबीचको प्राविधिक क्षेत्रमा प्रतिस्पर्धात्मक अस्तित्व स्वीकार गर्नु बिल्कुल सामान्य कुरा भएको कङले चर्चा गरे । उनले भने, ‘जतिवेलासम्म यो स्वच्छ र नियममा आधारित बन्छ, यस्तो प्रतिस्पर्धा प्रविधि विकासमा चीन र अमेरिकाका साथै समग्र विश्वका लागि उपकारी हुन्छ ।’ चीनले अमेरिकासँग प्रविधि क्षेत्रका अनुभव आदानप्रदान तथा थप सहकार्यका लागि मिलेर काम गर्न तयार रहेको र यो दुबै मुलुकसँगै समग्र विश्वको हितमा हुने उनले स्पष्ट पारे ।

तीन वर्षअघि चीनले महत्वाकांक्षी ‘मेड इन चाइना २०२५’ कार्यक्रम सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य नै चीनलाई अन्तरिक्ष, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, नयाँ पुस्ताको कार तथा अन्य क्षेत्रमा अग्रणी स्थानमा पु¥याउने हो । अमेरिकी अधिकारीहरूका अनुसार यी क्षेत्रमा अमेरिकी प्रविधि र खोजको मुख्य हिस्सा रहेको छ । चीनले अमेरिकी प्रविधि हस्तान्तरण गरेको र बौद्धिक चोरी गरेको अमेरिकी अधिकारीको आरोप छ ।

प्रतिक्रिया