‘यात्रा ठाकुरद्वारा–२०७५’ सुरु

बाँके । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको ‘यात्रा ठाकुरद्वारा–२०७५’ शुक्रबार बिहान नेपालगञ्जको धार्मिकस्थल बागेश्वरी मन्दिरबाट सुरु भएको छ । शुक्रबार बिहान नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले विश्व साइकिल यात्री पुष्कर शाहलाई नेपाली राष्ट्रिय झण्डा प्रदान गरी साइकल यात्राको शुभारम्भ गरे ।

साइकल यात्राको शुभारम्भ गर्दै डा. राणाले भने, ‘अब यो साइकल यात्रा केबल यात्रामा सीमित नराखी यसलाई प्रतियोगितात्मक हिसाबले अगाडि बढाउनुपर्छ’ उनले थपे, ‘पर्यटकीय क्षेत्र रारासम्म साइकल प्रतियोगिता राख्नुपर्छ ।’ साइकल चलाउनु स्वास्थ्यका लागि अति उत्तम रहेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले पनि साइकल सिटीको अवधारणा ल्याएको उपमेयर उमा थापामगरले बताईन् । यसका लागि उपमहानगरपालिका सहयोगका लागि सधँै तयार रहेको उनले बताइन् ।

नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष केशर आलेले बाँके र बर्दिया जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न साइकल यात्रा सुरु गरिएको बताए । साइकल यात्रा बर्दियाको बाँसगढीमा निर्माणाधीन केदारेश्वर धाम, ठाकुरबाबा मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्जसम्म हुने उनले बताए ।

विश्वसाइकल यात्री पुष्कर शाहको नेतृत्वमा साइकलमै देशका ७७ जिल्ला भ्रमण गरेका भोजपुरका तेजप्रसाद पराजुली, एउटा मात्र खुट्टाले कैलाली–रारा ताल साइकल यात्रा गरेका कैलालीका यमलाल रसाइली, एउटै खुट्टाले साहसिक साइकल यात्रा गर्ने अर्का किशोर युवक लामा, ६४ वर्षका अस्ट्रेलियन साइकल यात्री नील र चार विदेशी महिलासहित लगभग ५० जना यात्रामा सहभागी भएको कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए ।

प्रतिक्रिया