जन्मदर्ता नभएर विद्यालय जान रोकियो

अस्मिता खड्का, काठमाडौं । जन्मदर्ता नभएका कारण काठमाडौंस्थित एक बालिका विद्यालय जानबाट वञ्चित भएकी छिन् । अभिभावकविहीन भएका कारण ९ वर्षीय अनुराधा विद्यालय जानबाट वञ्चित भएकी हुन् ।  अभिभावकविहीन अनुराधालाई नेपाल होस्टेल एसोसियसनका सल्लाहकार मनिता देवाङले उद्धार गरेकी हुन् ।

अनुराधा ४ वर्षको उमेरदेखि नै अर्काको घरमा काम गर्दै आएकी थिइन् । काम गर्ने ठाउँबाट उनलाई निकालिएको जानकारी प्राप्त भएपछि मनिताले सात वर्षको उमेरमा उनलाई बानेश्वरबाट उद्धार गरेर संरक्षण दिँदै आएकी छिन् । उद्धारपश्चात् मनिता स्वयंले ती बालिकाको नाम अनुराधा राखिदिएकी हुन् ।

‘अनुराधाको घर कहाँ हो भन्ने पनि थाहा छैन । न उनको जन्मदर्ता छ नत नाम थर नै । आमाबुबाले उनी नजन्मिँदै सम्बन्धविच्छेद गरेका रहेछन् । बेवारिसे अवस्थामा बानेश्वरबाट उद्धार गरेर त्यो फुच्चीको आमाले मेरो जिम्मा लगाइन्’ मनिताले भनिन् । अनुराधाका आमाबुबाको नामसमेत आपूmलाई थाहा नभएको उनले बताइन् ।

अनुराधाको जन्म भोजपुरमा भएको हो । सम्बन्धविच्छेदपश्चात् उनकी आमाले रामेछापका एक व्यक्तिसँग दोस्रो बिहे गरेकी छिन् । अनुराधा बेसहारा भन्दै आफ्नो जिम्मा लगाइएको मनिताले बताइन् ।  जन्मदर्ता तथा बालबालिकाको पहिचानविना कुनै पनि विद्यालयले भर्ना लिँदैन । आमाबुबाले पनि आफ्नो छोरी हो भनेर नस्वीकारेपछि बेसहरा बालिकालाई अब कसको जिम्मा लगाउने भन्नेबारे अन्योलमा रहेको समेत मनिताले बताइन् ।  बालिकाको हेरचाह विगत २ वर्षदेखि मनिताले नै गर्दै आएकी छन् । बालिकाको खास पहिचान तथा जन्मदर्ता नहँुदा स्कुल पठाउनसमेत  समस्या भएको मनिता सुनाउँछिन् ।

बालअधिकारसम्बन्धी नेपालको प्रचलित कानुनअनुसार बाबु र आमा दुवैको पहिचान नभएका अर्थात् अभिभावकविहीन बालबालिकाले संरक्षकद्वारा दिइएको नाम थर आफ्नो नाम पछाडि उल्लेख गर्न पाउनेछन् । यस्तै, शिक्षासम्बन्धी नियमबमोजिम ६ वर्षमुनिका बालबालिकालाई प्रारम्भिक शिक्षाको हक हुनेछ भने सोभन्दा बढी उमेरका प्रत्येक बालबालिकालाई प्रचलित कानुनबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क रूपमा बालमैत्री वातावरणमा पाउनुपर्ने हक छ ।

साथै, आफ्नो धारणा बनाउन सक्षम बालबालिकाले भने आपूmलाई असर नपार्ने सार्वजनिक निकायको निर्णयमा सहभागी हुन पाउनेछन् । नेपाल होस्टेल एसोसियसनकी सल्लाहकार मनिता देवाङले बबरमहलस्थित अनमोल बोइज् होस्टेलसमेत सञ्चालन गर्दै आएकी छिन् ।

प्रतिक्रिया