भिजुअल इफेक्टमा बजगाईंको कमाल

शुकदेव थपलिया , काभ्रे । नेपाली चलचित्र क्षेत्रमा अच्युत बजगाईं चिनिएको नाम हो । नयाँ–नयाँ प्रविधि भित्र्याउन र चलचित्रलाई स्तरीय बनाउन मिहिनेत गर्ने पात्रका रूपमा उनलाई नेपाली सिनेजगतले चिन्छ ।  बजगाईं फुर्सदको समयमा हलिउड चलचित्र मेकिङ र त्यसको भिजुअल इफेक्ट हेरी नयाँ सोच बनाइरहेका देखिन्छन् । अन्तर्राष्ट्रिय बजारसम्म नेपाली चलचित्रलाई पु¥याउन गुणस्तरीयता ध्यान दिनुपर्ने तर्क गर्दै उनले यसमा कथा, प्रविधि र टिमवर्कको भूमिका अहम् हुने बताए । अहिलेका अत्यधिक व्यस्त भिजुअल इफेक्ट आर्टिस्ट बजगाईंले नेपाली चलचित्रलाई प्रविधिमार्फत कलात्मक बनाउन सकिने बताउँछन् । भिजुअल इफेक्ट चलचित्रको आँखीझ्याल हो ।

विश्व सिनेमा जगतमा २०औँ शताब्दीदेखि नै भिजुअल इफेक्टलाई चलचित्रको एक हिस्साको रूपमा लिइन्थ्यो । नेपालमा भने विगत ५–७ वर्षयता मात्र भिजुअल इफेक्टलाई एक हतियार मानिन थालिएको हो । यसको महत्वलाई उचाइ दिनमा भने भिजुअल इफेक्ट आर्टिस्ट अच्युतको ठूलो हात छ । जो आधा दशकदेखि नेपाली चलचित्रमा भिजुअल इफेक्ट आर्टमा काम गर्दै आएका छन् ।

काभ्रेका २४ वर्षीय युवा बजगाईं केही समय भिज्युअल इफेक्टमै काम गरिरहेका सिनियरको संगतबाट यस क्षेत्रमा होमिएको बताउँछन् । उनीहरूसँग काम गरेपछि उनले पहिलोपटक चलचित्र ‘लास्ट किस’ मा भिज्युअल इफेक्टको काम पाए । त्यसमा देखाएको दक्षताले उनलाई अन्य चलचित्रमा कामको अफर आयो ।

यसै कामबाट उनले विभिन्न राष्ट्रियस्तरका अवार्डसमेत प्राप्त गरिसकेका छन् । नेपाली चलचित्र उद्योगमा भिजुअल इफेक्ट नहुँदा चलचित्रमा निर्देशकले इच्छा गरेअनुरूप कतिपय वस्तुहरू पर्दामा उतार्न कठिन हुन्थ्यो । यसले माग गरिएको दृश्यको कमी हुन जान्थ्यो र भनेजस्तो चलचित्र बन्दैन्थ्यो । तर, पछिल्लो समय नेपाली चलचित्रमा भिजुअल इफेक्टको प्रयोग व्यापक रूपमा बढ्दै छ ।

उनले चलचित्र फेसबुकमा अन्तरिक्षबाट नेपाल र नेपालबाट फेरि अन्तरिक्षमा फर्किने भिजुअल इफेक्टको दृश्य बनाएर निकै चर्चा कमाएका थिए । उनले यस्तो ‘अर्थ जुम’ इफेक्ट नेपाली चलचित्रमा पहिलोपटक गरेका थिए । २ दर्जन बढी नेपाली चलचित्रमा काम गरिसकेका छन् । उनले रोमियो, मेला, कायर, पुनर्जन्म, वीरंगना, पटुकी, छिरिङ, जय शम्भु लगायतका थुप्रै चलचित्रमा उनले काम गरेको जानकारी दिए । त्यस्तै, उनले काम गरेका होलिडे, उल्झन, भिलेन, लभ डायरी, आरोप, पोखरा कि काली, प्रेम लीला, ए मेरो हजुर ३ लगायत चलचित्र प्रदर्शनमा आउने तयारीमा छन् ।

प्रतिक्रिया