फ्राइडे रिलिज – ९ दर्जन हलमा ‘रणवीर’

काठमाडौं । शुक्रबारबाट देशका ९ दर्जन बढी हलमा चलचित्र ‘रणवीर’ प्रदर्शनमा आउँदै छ । काठमाडौंमा एउटा सिंगल हलबाहेक सबै २५ हलमा यो चलचित्र प्रदर्शन हुने उपत्यका वितरक स्टेसन पाइभका अध्यक्ष प्रचण्डमान श्रेष्ठले जानकारी दिएका छन् । यस्तै, मोफसलमा ७० भन्दा बढी हलमा ‘रणवीर’ रिलिज हुन लागेको मोफसल वितरक एफडी कम्पनीका प्रमुख कपिल द्वाले जानकारी गराए ।

प्रेमकथामा आधारित द्वन्द्वप्रधान यो चलचित्रमा भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, अपहरणजस्ता विषयले उठान गरिएको निर्देशक गोविन्द सिंह भण्डारीले बताए । यो उनको डेब्यु निर्देशन चलचित्र हो । चलचित्रमा सुशिल सिटौला, नवोदित अभिनेत्रीद्वय शुभेच्छा खड्का, सुपुष्पा भट्ट, अभिनेता हरिहर शर्मा, टिका पहारी, प्रशान्त ताम्राकार, नरेश पौड्याल, भोलाराज सापकोटा, सैलेश्वरी सिंह लगायतका कलाकारको मुख्य भूमिका छ ।

अभिनेता सुशिल सिटौलाले यसअघिका चलचित्रमा चकलेटी भूमिकामा दर्शकले मलाई हेर्दै आए पनि यसमा रणवीर बनेर आफू मुलुकका विकृति विसंगतिविरुद्ध उत्रिएको जिकिर गरे । नवोदित अभिनेत्री एवं मिस नेपाल इन्टरनेसनल २०१२ शुभेच्छा खड्काले रणवीरमा एक जिम्मेवार युवतीको भूमिका निर्वाह गरेको बताइन् । अभिनेता प्रशान्त ताम्राकारले एक्सनमा आफूले सबैभन्दा बढी मिहिनेत गरेको चलचित्र नै रणवीर भएको दाबी गरे ।

प्रतिक्रिया