काठमाडौं । सन्दीप जोराको अर्धशतकका बाबजुद नेपालले संयुक्त अरब इमिरेट्स(युएई)विरुद्धको पहिलो टी–२० क्रिकेट शृंखला पनि हारबाट सुरुआत गरेको छ । दुबईको आइसिसी एकेडेमीमा भएको पहिलो टि–२० क्रिकेटमा २१ रनले पराजित भएपछि तीन खेलको शृंखलामा नेपाल १–० ले पछाडि परेको छ । युएईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन मात्रै बनाउन सक्यो । सन्दीप अर्धशतकमै नटआउट रहे पनि सिनियर ब्याट्सम्यान चल्न नसक्दा नेपालले हारको सामना गरेको थियो ।
यता, नेपालको सुरुआत पनि निकै खराब रह्यो । पहिलो ओभरको पहिलो बलमै प्रदीप ऐरी खाता नखोल्दै आउट भएपछि नेपाल दबाबमा परेको थियो । प्रदीप र कप्तान पारस ओपनिङमा आए पनि खासै जम्न सकेनन् । यसअघि युएईविरुद्धकै तेस्रो र अन्तिम एकदिवसीयमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका पारसले टी–२० मा भने मध्यम सुरुआत गरे ।
उनले दोस्रो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्लसँग ३० रनको साझेदारी गरेका थिए । तर, सुल्टान अहमदले दोस्रो विकेटको रूपमा ज्ञानेन्द्र मल्ललाई ७ रनमा आउट गर्दै त्यो साझेदारीलाई तोडे । तेस्रो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरी पनि धेरै बेर टिक्न सकेनन् । उनी २ बल खेल्दै ४ रनमा आउट भए । चौथो नम्बरमा आएका सन्दीप जोराले नेपाली टिमलाई उकास्ने प्रयास गरे । उनले पारससँग १२ रनको साझेदारी गरे । पारस पनि २५ रन बनाएर आउट भए ।
सन्दीप जोराले एक छेउबाट उत्कृष्ट प्रदर्शन गर्दा अर्को तर्पmबाट भने नेपालको विकेट पतन भइरहेको थियो । आक्रामक ब्याट्सम्यानको छबि बनाएका करण केसी र यसअघिको एकदिवसीय शृंखलामा अर्धशतक बनाएका रोहित पौडेल पनि समान ४ रनमै आउट भए । तर त्यसपछि ब्याटिङमा आएका सोमपाल कामीले पारी समाल्ने प्रयास गरे पनि २७ रनमा आउट भए । अन्तिम ओभरको पहिलो बलमा आउट भएका सोमपालले १९ बलमा समान एक चौका र छक्का प्रहार गरे ।
यद्यपि, सन्दीप जोरा ५३ रनमा नटआउट भए पनि नेपाललाई जित दिलाउन भने सकेनन् । टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । युएईका लागि सैमान अनवरले सर्वाधिक ५९ रनको योगदान दिए । एकसमय कमजोर रहेको युएईको इनिङलाई अनवरले नै आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ५ चौका र दुई छक्का प्रहार गर्दै घरेलु टोलीको इनिङ उकासेका थिए ।
मुहम्मद उस्मानले ३० रन जोडे । युएईको खातामा ३ रन हुँदा सन्दीप लामिछानेले पहिलो विकेट लिएका थिए । अश्फाक अहमद २ रन बनाएर बसन्त रेग्मीको बलमा क्याचआउट भए । त्यसपछि पाँचौँ ओभरमा सोमपाल कामीले गुलाम साब्बरलाई सन्दिप जोराबाट क्याचआउट गराएका थिए । तेस्रो विकेटका रूपमा युएईका सिपी रिजवान आउट भए ।
उनीले वसन्त रेग्मीको बलमा प्रदीप ऐरीबाट क्याचआउट हुनपूर्व २२ रन बनाएका थिए । त्यसपछिक मोहम्मद उस्मान र अनवरले ६१ रनको बलियो साझेदारी गर्दै युएईलाई एक सय रनको आँकडा पार गराए । सन्दीप लामिछानेले उस्मानलाई पारस खड्काबाट क्याचआउट गराएपछि सो साझेदारी तोडिएको थियो ।
त्यसपछि शैमान पनि अविनाश बोहराको बलमा बोल्ड भए । युएईका लागि मोहमद बुताले अविजित २० रन बनाउँदा कप्तान मोहम्मद नाभिद वसन्त रेग्मीबो बलमा स्टम्प भए । बलिङतर्फ सन्दिप लामिछाने र वसन्त रेग्मीले दुई दुई विकेट लिए भने सोमपाल कामी र अविनाश बोहराले एक–एक विकेट लिए ।
प्रतिक्रिया