२६ जनामा भेटियो डेंगु

चितवन । जिल्लामा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ मा डेंगुको सक्रमण देखिएको छ । यस अवधिमा एक हजार ३७० को डेंगुु परीक्षण गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक रामकुमार केसीका अनुसार डेंगु देखिएकामध्ये ११ चितवनका छन् । अन्य छिमेकी जिल्लाको रहेको उनले बताए । मुख्यरूपमा साउन, भदौ, असोजमा डेंगुको संक्रमण हुने गर्दछ । गत आर्थिक वर्षमा ५९ मा डेंगु देखा परेको थियो । जसमध्ये ३२ चितवनका रहेको केसीले बताए ।

गत वर्ष हेटौँडा घर भएका एक जनाको चितवनमा उपचारका क्रममा डेंगुका कारण मृत्यु भएको थियो । आठ वर्षअघि जिल्लामा डेंगु संक्रमणका रूपमा फैलिएको थियो । केसीका अनुसार सन् २०१० मा ७३९ मा डेंगुको संक्रमण भेटिएको थियो । जसमध्ये पाँचको मृत्यु भएको थियो । त्यसपछिका वर्षमा क्रमश संक्रमण घट्दै आएको छ ।

डेङ्गु नियन्त्रणका लागि यही माघ १४ गतेबाट इपिडिमियोलोजी महाशाखा र रत्ननगर नगरपालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । एडिस एजेप्टाइ जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सर्छ ।

प्रतिक्रिया