मारुनी नाच लोपोन्मुख अवस्थामा

बेझाड । कुमाल समुदायको पुर्खौली संस्कृति मारुनी नाच समुदायबाटै लोप हुन थालेको छ । युवापुस्ताले संस्कृति संरक्षणमा ध्यान नदिँदा समुदायमा प्रख्यात मारुनी नाच लोपोन्मुख अवस्थामा पुगेको हो ।

रोजगारीको सिलसिलामा युवापुस्ता विदेशन पलायन हुँदा गाउँमा बसेर युवापुस्ताले संस्कृति सिक्ने अवसर पाएका छैनन् । अझै पनि फाट्टफुट्ट केही ठाउँमा पाकापुस्ताकै भरमा मारुनी नाच देखाउने गरिएको छ ।

पाल्पाको रामपुर नगरपालिका– ३ भलायटारका मारुनी नाचका गुरु ७७ वर्षीय कुशलाल कुमाल संस्कृति धान्नकै लागि अझै पनि मारुनी नाच देखाउने कार्यमा सरिक छन् । “सँगै मारुनी गाउने नाच्ने साथी मरेर गए, अहिले म मात्रै एक्लैजस्तो भएको छु, तैपनि जसोतसो संस्कृतिलाई बचाउन लागिपरेको छु”, उनले भने ।

बाल्यकालदेखि नै बाउबाजेसँग मारुनी गाउँदै नाचेर हिँड्ने कुमाल अहिले आफैँले गुरु भएर सिकाउने गर्छन् । उनि सिक्ने व्यक्ति तयार कोही नहुँदा आफू मरेर गएपछि संस्कृति पनि हराउने हो कि भनेर चिन्तित छन् । पुरुषले महिलाका वेशभूषा लगाएर मादल र गीतको तालमा दुई जना मारुनी र एक जना पुरुसिङ्गे भएर नाच्ने गरिन्छ । एक समूहमा १० देखि १५ जनासम्म कलाकार हुन्छन् । अभिनयसहित मारुनी नाच नाच्ने गरिन्छ ।

पुरुसिङ्गेलाई मारुनीले र मारुनीलाई पुरुसिङ्गेलाई नाच्दा लखेट्ने गरेर यो नाच देखाइन्छ । माघे सङ्क्रान्ति, एकादशी, नयाँ वर्ष, विभिन्न मेला महोत्सव, तिहारे औँशीजस्ता चाडपर्वमा मारुनी नाच देखाउने गरिन्छ । युवा गाउँमा नबस्दा पनि संस्कृति सिकाउन नसकिएको मारुनी नाचका पुरुसिङ्गे कलाकार मीनबहादुर कुमाल बताउँछन् ।

नेपाल कुमाल एकता समाज रामपुर समुदायबाटै लोप भएर जान लागेको मारुनी नाचलाई जोगाउँदै अहिले संरक्षण अभियानमा छ । रामपुर नगरपालिकाका विभिन्न वडामा कुमाल समुदायको बस्ती छ । धेरैलाई संस्कृतिबारे ज्ञान नै नहुँदा संस्कृति संरक्षणमा जुटेको नेपाल कुमाल एकता समाज रामपुरका अध्यक्ष पदमबहादुर कुमाल बताउँछन् ।

मारुनी नाचका लागि आवश्यक पोशाक तथा वाद्यवादनका सामग्री खरीदमा स्थानीय तहले सहयोग गर्ने तथा मारुनी नाच जोगाउन लागिपरेको उनले बताए । “युवालाई समेटेर मारुनी नाच सिकाउने गरेका छौँ,” उनले भने । राजारानीको स्वरुपमा कृष्णचरित्रका रुपमा नाटकीय चरणमा यो नाच देखाइने गरिन्छ । रामपुर नगरपालिकामा करीब एक हजार छ सयको हाराहारीमा कुमाल समुदायको जनसङ्ख्या छ ।

प्रतिक्रिया