सल्यान । बेसारबाट राम्रो आम्दानी हुन थालेपछि सल्यानको कालिमाटी गाउँपालिकाको काल्चे घुरचौरका ६० परिवारले खाद्यबाली लगाउन छोडेर व्यावसायिक बेसार खेती सुरु गरेका छन् । यहाँका स्थानीयले वार्षिक २ सय ५० रोपनी बढी क्षेत्रफलमा उन्नत जातको बेसार खेती गर्दै आइरहेका छन् ।
आम्दानी राम्रो, खेती गर्न सजिलो र बजारको समस्या नभएकाले बेसार खेती बढिरहेको स्थानीय हरिबहादुर खड्काले बताए । स्थानीय बजारमै १ सय ५० देखि दुई सय रुपैयाँ प्रतिकिलोमा बेसार बिक्री हुने भएकाले पनि स्थानीय हौँसिएको उनले बताए ।
उनका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण गाउँका सबै युवा कमाइ गर्न भारतका विभिन्न ठाउँमा जाने गरेका थिए । बेसार खेतीमा लागेपछि घरमै रोजगारी मिलेको उनको भनाइ छ ।
अन्नबालीभन्दा राम्रो कमाइ हुने भएकाले दुई रोपनी जग्गामा बेसार लगाउने गरेको स्थानीय शेरबहादुर ओलीले बताए । उनले गत वर्ष सबै खर्च कटाएर १ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । आगामी वर्ष चार रोपनी जग्गामा बेसार खेती विस्तार गर्ने योजना बनाएको जानकारी दिँदै उनले उत्पादित बेसार भारतका विभिन्न ठाउँमा पठाउन थालेकोसमेत जानकारी दिएका छन् ।
उच्च मूल्य कृषिवस्तु विकास आयोजनाको सहयोगमा सुरु गरिएको किसानको बेसार खेती पछिल्लो समय फस्टाउँदै गएको छ । आयोजनाले बेसार खेतीमा सिँचाइ गर्न १ हजार ३ सय मिटर कुलो निर्माण गरेको छ । सिँचाइ सुविधा भएपछि खेतीमा सहयोग पुगेको बेसार उत्पादन समूहका अध्यक्ष हरिबहादुर खड्काले बताए ।
उनका अनुसार पहिलो वर्ष ८४ रोपनी जग्गामा बेसार खेती गरिएको थियो । जसबाट २५ हजार ६ सय किलो उत्पादन भएको थियो । उनका अनुसार यस वर्ष २ सय ५० रोपनी जग्गामा लगाएको बेसारबाट ४० हजार किलो उत्पादन भएको छ । बेसार खेतीबाट गाउँमा बर्सेनी करिब १५ करोड रुपैयाँ भित्रिने गरेको छ ।
कृषि ज्ञान केन्द्रले अदुवाजस्तै जिल्लाको बेसारले ख्याति पाउन थालेको जनाएको छ । काल्चेका किसानले बेसारबाट राम्रो आम्दानी गरिरहेको वरिष्ठ कृषि विकास अधिकृत अम्मरराज शर्माले बताए । उनका अनुसार नगदे बाली भएकाले किसानले राम्रो आम्दानी गर्न थालेका छन् । कार्यालयले बेसार खेती गर्ने किसानलाई विभिन्न सहयोग उपलब्ध गराइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया