सिंगो गाउँ नै लालपुर्जाविहीन

कृष्णनगर । कपिलवस्तुको शिवराज नगरपालिका–८ मा पर्ने देवीपुर गाउँ लालपुर्जावहीन अवस्थामा रहेको छ ।

२०५९ मा बस्ती विस्तार भएको सो गाउँमा करीब १ सय १९ घरपरिवारको बसोबास छ । २०६४ को कपिलवस्तु घटनामा विस्तापित भएकालाई पुनस्र्थापना गरी निर्माण गरिएको उक्त बस्ती एकदशक बितिसक्दासमेत लालपुर्जाविहीन छ ।

२०६४ को घटनामा उजाड बनेको सो गाउँमा कारितास नेपाल र सहज नेपालले पुनर्वासका लागि करीब रु ५५ लाखको लागतमा १२३ घर निर्माण गरेको सहज नेपालका पूर्वअध्यक्ष शरद अधिकारीले बताए ।

पुनर्वासमा बसेको एक दशक बित्दासमेत आफूहरूले भोगचलन गरेको घर जग्गाको लालपुर्जा नपाएको स्थानीयवासी खेतुलाल रानामगरले गुनासो गरे । बस्ती बस्दा ७ सय ५० जनसंख्या रहेको भए पनि अहिले सो बस्तीको जनसंख्या करीब एक हजार ३ सयको हाराहारीमा रहेको उनले बताए ।

बस्ती बसाल्दा १ सय २३ घरमा बसोबास गर्ने भए पनि हाल सो बस्तीबाट २०-३० घर विस्थापित भएका छन् । कतिपयले पुनर्वासमा पाएका घर अर्कैलाई बेचेर अन्यत्र गएको स्थानीयवासी सीतादेवी जलारीले बताइन् ।

घरसहित एक परिवारलाई पाँच कट्ठा जमीन खेतीपाती गर्न तत्कालीन अवस्थामा दिइएको सहज नेपालका पूर्वअध्यक्ष अधिकारीले बताए । स्थानीय तहमा घरधुरी कर तिरिरहेका भए पनि घर जग्गाको लालपुर्जा पाउन नसकेको स्थानीयवासी लोकबहादुर सुनारले बताए ।

लालपुर्जाको समस्या स्थानीय सरकारले समाधान गर्न नसक्ने भएकाले आश्वासन मात्रै दिनु परेको नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए । देशकै समस्याका रूपमा रहेको लालपुर्जा्विहीनको समस्या देवीपुर गाउँमा मात्रै नभएर विजयनगर गाउँपालिकालगायत अन्यत्र ठाउँमा पनि रहेको प्रदेश नं ५ का प्रदेशसभा सदस्य अर्जुन केसीले बताए ।

प्रतिक्रिया