महोत्सवमा डिजे गीत

गुरुमुरत यादव, बाँके । थारू गायक राज कुश्मी र अन्जु कुश्मीले मैटहवा माघी महोत्सवमा सांगीतिक प्रस्तुतिमार्फत दर्शक तताएका छन् । कोहलपुरस्थित मैटहवामा भएको ‘माघी महोत्सव २०७५’ मा यु्गल जोडीका रुपमा गायक राज र अन्जु कुश्मीले विभिन्न गीत गाए । गायक राजले फुलकुमारी गीतमा दर्शकलाई झुमिझुमी नचाए । स्टेजमा पुग्नेवित्तीकै उनले गायिका अन्जुलाई फुलकुमारी भनेर सम्बोधन गरेपछि दर्शको गडगडाहट तालीले माहोल नै तातेको थियो ।

महोत्सवमा बजाके गाना डिजे बोलको गीतबाट गाउन सुरु गरेका उनीहरुले कोइ कहे तेमरीका फुला कोइ कहे बालमके झुला, हाई हाई फुलकुमारी गीत गाए । ‘प्यार से चुम्मा दैदेहो फुलकुमारी जवानी हो दुई दिनके चोला फुलकुमारी’ गीतले प्रमुख अतिथि, अतिथि, कलाकार तथा दर्शक समेत नाचेका थिए । यस्तै, जालीदार मोरे चोलियालगायत कल्चरल गीत गायक राज र अन्जुले प्रस्तुत गरेका थिए । यस्तै अर्का थारू गायक खेम भौगरियाले पनि आफ्ना चर्चित गीत प्रस्तुत गरे ।

थारू हास्यकलाकार सत्यनारायण चौधरी (फेतारा) को हास्य प्रस्तुतिमार्फत दर्शक पेट मिचिमिची हाँसेका थिए । त्यसैगरी उनले मोडेल प्रमिला चौधरीसँग नृत्यसमेत गरे । गायिका तथा मोडल श्रीदेवी चौधरीले चवन्नी मुस्कि मारके गीत तथा नृत्यसमेत प्रस्तुत गरिन् । गायिका समीक्षा चौधरी, खेम चौधरी, मनिराम चौधरी, मोडल करिश्मा चौधरी, नरेश चौधरी (देवदास) सोमती चौधरी लगायत दर्जन बढी कलाकारले महोत्सवमा विभिन्न प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रस्तुत गरे ।

थारू कल्याणकारिणी सभा बाँकेको आयोजनामा भएको चौथो बाँके माघी महोत्सव कार्यक्रमका प्रमुख अतिथि प्रदेश–५ का सांसद डिल्लीबहादुर चौधरी रहेका थिए भने कार्यक्रमको अध्यक्षता थारू कल्याणकारिणी सभा बाँकेका संयोजक विनोदकुमार थारूले गरेका थिए ।
महोत्सवमा थारू संग्रहालय, थारू सांस्कृतिक झाँकी, सांस्कृतिक नृत्य, प्रतियोगिता लगायत थारू समुदायका पुराना सामाजिक तथा सांस्कृतिक विषय झल्कने सामग्री समेत प्रदर्शन गरिएको थियो ।

थारू अगुवा, बडघरलगायत थारू समुदायको मिलनको रूपमा आयोजना गरिएको महोत्सवले पुरानो भेषभूषा, मौलिक कला संस्कृति, थारूको पहिचानको संरक्षण गर्ने विश्वास आयोजकले लिएको जनाएको छ । महोत्सवमा विभिन्न वडा, गाउँ, क्लबका सांस्कृतिक नृत्यको प्रतियोगितासमेत गरिएको थियो । सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोस्रोलाई १५, तेस्रो हुनेलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ पुरस्कारको प्रदान गरियो ।

महोत्सवको उद्घाटन कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारू, कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरी, युवानेता फुलाराम थारू लगायत विभिन्न वडाका वडाअध्यक्ष, थारू राष्ट्रिय कलाकार, स्थानीय कलकार पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया