चर्चमा भएको विस्फोटनमा २७ को मृत्यु

मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुईवटा विस्फोटन भएको जानकारी दिए । प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक रहेका छन् । उनले विस्फोटनमा परी अरू ७७ जना घाइते भएका र उनीहरूको उपचार भइरहेको पनि जानकारी दिएका छन् ।

दुबै विस्फोटन स्थानीय समयअनुसार बिहान करिब ८ः१५ बजेतिर दक्षिणी क्षेत्रको जोलो चर्चमा भएको बताइएको छ । उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा ती दुईवटा बम विस्फोटन भएको अल्बायाल्डेले बताए । यस दुर्घटनामा परेकामा अधिकांश नियमितरूपमा चर्च जाने गरेका रहेका पनि प्रहरीले जानकारी दिएको छ ।

‘चर्चामा प्रार्थनाका वेला भएको विस्फोटनको हामी घोर भत्र्सना गर्दछौँ, सैन्य अधिकारी र आमनागरिक मारिएका र घाइते भएका छन्, त्यो निकै दुःखद छ,’ फिलिपिन्सका रक्षासचिव डल्फिन लोरेन्जानले भने । उनले घटनाका पीडितलाई तत्काल राहत तथा उद्धारका लागि सहयोग गर्न पनि निर्देशन दिएका छन् ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको र घटनाको विवरण संकलन भइरहेकोले मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया