कक्षा वृद्धिका लागि सहयोग

अछाम । कक्षा १० सम्म अध्ययन भइरहेको अछामको बान्नीगढी जयगढ–६ दर्ना स्थित ऐश्वर्य माविलाई कक्षा १२ सम्म सञ्चालन गरिने भएको छ । माथिल्लो कक्षा सञ्चालनका लागि विद्यालयले आर्थिक संकलन अभियानसमेत सञ्चालन गरिसकेको छ ।

कक्षा १२ सम्म गाउँमा पढाइ नहुने भएकाले विद्यार्थीले टाढाटाढाका छिमेकी विद्यालयमा गएर पढ्नुपर्ने बाध्यता रहेको छ । विद्यार्थीका समस्या स्थानीय जनताको चाहनालाई मध्यनजर गर्दै विद्यालयले यो अभियान सञ्चालन गरेको प्रधानाध्यापक कटकबहादुर शाहले बताए ।

विद्यालयले सेवा क्षेत्रका सरोकारवालालाई स्वैच्छिक सहयोगका लागि आह्वान गरेसँगै हालसम्म झन्डै ४ लाख ५२ हजार ५ सय रकम संकलन भइसकेको विद्यालयले जनाएको छ । स्थानीयहरूले विद्यालयलाई कक्षा १२ सम्म सञ्चालनका लागि चन्दा संकलनको अभियानसमेत चलाइरहेको विव्यस अध्यक्ष तथा वडाध्यक्ष कृष्णबहादुर कडायतले बताए । उनले भने, ‘विद्यार्थीका सजिलोका लागि र अन्यत्रको विद्यालयमा जानुपर्ने बाध्यता हटाउनका लागि सबै वडावासी कक्षा बढाउने अभियानमा सक्रिय भएका छन् ।’

हालसम्म संकल भएको रकममा ऐश्वर्य माविकै शिक्षक कर्मचारीबाट नगद ३ लाख, वडाध्यक्ष कृष्णबहादुर कडायतबाट ५० हजार, वडा कार्यालय दर्नाका सहायक गोकुल ठकुल्लाबाट ५० हजार, शिक्षक हिक्मतबहादुर थापाबाट २३ हजार ५ सय, स्थानीय टंकबहादुर थापाबाट १५ हजार सहयोग प्राप्त भएको र दर्नाकै चण्डाली टोलबाट १४ हजार चन्दा संकलन भएको विद्यालयले जनाएको छ ।

शिक्षक दरबन्दी र भौतिक संरचना तथा आवश्यक व्यवस्थापनको अभावमा रहेको विद्यालयमा कक्षा १२ सम्मको पढाइ सञ्चालनका लागि सहजता प्रदान गर्न र कक्षा वृद्धिको सम्बन्धन लिनका लागि आर्थिक संकलन अभियान चलाइएको अध्यक्ष कडायतले जानकारी दिए । सम्बन्धित निकायबाट कक्षा वृद्धिको सम्बन्धन लिनकै लागी मात्र ८ लाख लाग्ने भएकाले बिद्यालयसँग त्यो स्रोत नहँुदा आर्थिक संकलनको अभियान चलाउनुपरेको बताइएको छ ।

प्रतिक्रिया