जिल्ला अस्पतालको मुहार फेरियो

हुम्ला । हुम्लामा रहेको एक मात्र जिल्ला अस्पतालले मुहार फेरिएको छ । फोहोरको डंगुरजस्तो महसुस हुने अस्पतालले सेवाको समेत विस्तार हुँदा बिरामीलाई राहत भएको छ ।

अस्पताललाई बिरामी मैत्री बनाउनका लागि सेवाको विस्तार गरिएको हो । सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था रोक्नका लागि सेवा विस्तार गरेको हो । बिरामीलाई जिल्लाभित्र नै सेवा दिन सकिने हरेक समस्यालाई समाधान गर्नका लागि चिकित्सक टोली लागिपरेको छ ।

‘विगत वर्षमा विरामीले सामान्य एक्स–रे समेत गर्न नपाई हवाई जहाजको महँगो भाडा तिरेर जिल्ला बाहिर जानु पर्ने अवस्था थियो, हाल जिल्ला अस्पतालले यो सुविधा दिन थालेपछि यो समस्या टरेको छ, अब ढुक्कसँग विरामीको औषधोपचार गर्न सकिएको छ’ डाक्टर टासी अञ्जुक लामाले बताए ।

बिरामीको सुविधा लागि अस्पतालले इसिजी सेवा पनि दिन थालेको छ । यसै वर्ष सामुदायिक विकास कार्यक्रमको सहयोगमा एक्स–रे भवनको छुट्टै निर्माण भएपछि रेडियोग्राफीसम्बन्धी सबै सेवा जिल्ला अस्पतालले दिन थालेको छ । हरेक कोठालाई बिरामीमैत्री बनाइएको छ ।

बहिरंग सेवालाई दुई वटा डाक्टरले निदान दिन सकिने गरी सेवाको विस्तार भएको छ । अस्पतालको प्रयोग नभएका कोठालाई थप मर्मत संभार गरी यसलाई सेवा विस्तारमा अस्पताल लागिपरेको छ । हरेक कोठालाई रंगरोगन र उचित स्वास्थ्यसम्बन्धी जानकारी भएको पोस्टर लगायतका सामग्रीले अस्पताललाई एक नयाँ मुहार परिवर्तन हुने गरी प्रयोगमा ल्याइएको छ ।

रात्रिसेवा दिने स्वास्थ्यकर्मीका लागि छुट्टै विभाग नहुँदा समस्या भएकोमा यस वर्षबाट नर्सिङ ड्युटी स्टेसनको पनि स्थापना गरिएको छ । अस्पतालमा सानो अक्सिजनको भेन्टिलेटरको सहयोगले भए पनि हाल सुविधासहित उपचारमा स्वास्थ्यकर्मी लागिपरेको लामाले बताए । आकस्मिक कक्षसमेत पहिलेको भन्दा अहिले सफा र स्वच्छ देखिएको छ ।

बिरामीको उपचारका लागि २४सै घण्टा दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीलाई उपचार गरिन थालिएको छ । कर्णाली प्रदेश सरकारले यस आर्थिक वर्षमा अक्सिजन प्लान्ट स्थापनाका लागि जिल्ला अस्पताललाई ५० लाखको रकम विनियोजन गरी सकिएको सामाजिक विकास मन्त्री दलबहादुर रावलले बताए ।

बिरामीले जिल्ला अस्पतालमा निःशुल्क प्राप्त गर्ने औषधिबाहेक अन्य औषधि निजी फार्मेसी र मेडिकलबाट चर्को मूल्यमा किन्नुपर्ने अवस्थाबाट पनि पार पाएका छन् । यसै आवबाट जिल्ला अस्पतालले आफ्नै फार्मेसी सञ्चालनसमेत गरेको छ । नेपालगञ्ज, सुर्खेत र देशको अन्य सहरी क्षेत्रको मूल्यमा औषधिको बिक्री वितरण गरी बिरामीलाई आर्थिक भार कम गराएको अस्पताल स्रोतले जानकारी गराएको छ ।

बीच भागमा बगैंचा, अस्पतालको घेरबार गरी व्यवस्थित गरिएको छ । अस्पतालले आगामी दिनमा बिरामीलाई उपचारमा सहज होस् भन्नको लागि एम्बुलेन्स सेवा दिनको लागि स्थानिय तह र अन्य संघ संस्थासँग अनुरोधसमेत गरिएको डा. नविन रोकायाले जानकारी गराएका छन् ।

गत आवबाट रेडियोग्राफर, ल्याब टेक्निसियन र फार्मेसीमा काम गर्ने कर्मचारीको तलब भत्ता गाउँपालिकाले बेहोरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए । जिल्ला अस्पतालको सेवा विस्तारसँगै अब दिसा, पिसाब, रगत, खकारजस्ता जाँचसमेत सहज रूपमा दिन सुरु गरेको छ । पहिले कर्मचारी तथा सुविधा अभावले सेवाग्राही लाखौं खर्च गरी सहरमा उपचारका लागि जानुपर्ने वाध्यता थियो । अब यो समस्या टरेको ल्याब टेक्निसियन सुनिता तामाङले बताइन् ।

जिल्ला अस्पतालमा प्याराडेमिक्स र नर्सिङ स्टाफको अभाव हुँदाहुँदै पनि राम्रो सेवा प्रवाह भइरहेको जिल्ला अस्पताल प्रमुखसमेत रहेका डाक्टर टासी अञ्जुक लामाले बताइन् । दरबन्दी अनुसार कर्मचारी नुहुँदा अस्पताललाई केही असहज महसुस भने भएको छ। हाल अस्पतालमा ३ जना डाक्टरको दरबन्दी भएता पनि स्थानीय दुई जना डाक्टरले भ्याइनभ्याई काम गर्नुपरेको छ । भएका अन्य कर्मचारीलाई पनि बढी समयसम्म खटाउनु पर्ने अवस्था रहेको छ ।

हाल जिल्ला अस्पतालमा रगतसमेत प्रत्यारोपण गर्न सुरु गरिएको छ । रगत समूह मिलेमा कर्मचारीहरुले पनि रगत प्रत्यारोपण गरी बिरामीलाई सेवा दिने गरेका छन् । गएको केही साता अगाडि सुत्केरी महिलालाई रगतको कमी भएपछि जिल्ला अस्पतालमा काम गर्ने एचएलबी रावतले दुई प्वाइन्ट रगत प्रत्यारोपरण गरी ज्यान जोगाएको सम्झँदै डाक्टर लामाले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले जतिसक्दो बिरामीको उपचारमा कुनै कसर बाँकी नराखी काम गरिरहेको बताए ।

प्रदेश सरकारले प्रर्याप्त मात्रामा स्वास्थ्यकर्मीको व्यवस्था गरेको भए जिल्लामा स्वास्थ्य क्षेत्रमा राम्रो प्रबन्ध गर्न सकिने अवस्था रहेको जिल्ला स्वास्थ्य प्रमुख तुलसीप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया