परिवर्तन ल्याएका मार्क्सका पाँच भनाइ

मे ५ तारिखका दिन विश्वका कम्युनिस्टहरूले विख्यात दार्शनिक कार्ल माक्र्सको जन्मदिन मनाउँछन् । गएको २०१८ को मे ५ मा मार्क्सकाे २००औँ जन्मदिन धुमधामले मनाए । माक्र्सकोे क्रान्तिकारी राजनीतिको विरासत कठिनाइहरूले भरिएको कुरामा धेरै सहमत रहेको पाइन्छ । समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ ।

साम्राज्यवाद, स्वतन्त्रता र सामूहिक हत्यासँग मार्क्सका सिद्धान्तहरू जोडिएपछि उनलाई एक विभाजनकारीका रूपमा हेर्न थालियो । तर, माक्र्सको अर्को रूप पनि छ, त्यो हो उनी एक भावुक व्यक्ति पनि थिए । संसारको भलाइमा उनका विचारहरूको महत्वपूर्ण योगदान रहेको मानिन्छ ।

मार्क्सका महत्वपूर्ण पाँच भनाइ

१.बालबालिकालाई पढाउनुपर्छः केही मानिसहरूले यो कुरालाई एउटा भनाइका रूपमा मात्र लिन सक्छन् । तर सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेखिरहेका बेला मार्क्सले बालश्रमको चर्चा गरेका थिए । अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २०१६ को तथ्यांकअनुसार अहिले पनि संसारमा १० मध्ये एक बच्चा बालश्रमिक छन् । धेरै बालबालिकाहरू कलकारखाना छाडेर विद्यालय जानुमा मार्क्सकाे ठूलो देन छ ।
‘द ग्रेट इकोनोमिस्ट’ पुस्तककी लेखिका लिन्डा यू भन्छिन्, ‘सन् १८४८ मा जारी माक्र्सको घोषणापत्रमा बालबालिकालाई निजी विद्यालयमा निःशुल्क शिक्षा दिइनुपर्ने कुरा १० बुँदामध्ये एउटा थियो । कलकारखानामा हुने बालश्रममाथि रोक लगाउनुपर्ने कुराको पनि त्यसमा चर्चा गरिएको थियो ।’

२. आफ्नो जिन्दगीको मालिक आफैँ हुनुपर्छः के तपाईंहप्ताको सात दिन काम गर्नुहुन्छ ? कामका बेला खाजारखाना खाने समय लिनुहुन्छ ? एउटा निश्चित उमेरपछि तपाईंसेवा निवृत्त हुन र निवृत्तिभरण पाउन चाहनुहुन्छ ? यदि तपाईंको जवाफ सकारात्मक छ भने तपाईं माक्र्सलाई धन्यवाद दिन सक्नुहुन्छ ।

लण्डन स्कूल अफ इकोनोमिक्सका प्राध्यापक माइक साभेज भन्छन, ‘पहिला पहिला लामो समयसम्म काम गर्न भनिन्थ्यो । तपाईंको समय तपाईंको हुँदैनथियो र तपाईंआफ्नो जिन्दगीका लागि सोच्न पाउनु हुँदैनथियो ।’ पुँजीवादी समाजमा मान्छेलाई बाँच्नका निम्ति उनीहरूको श्रमलाई कसरी बाध्यता बनाइनेछ भन्नेबारे मार्क्सले लेखेका थिए ।

उनका अनुसार मानिसहरूलाई अधिकांश समय उनीहरूको परिश्रम अनुसारको पारिश्रमिक दिइनेगरिएको थिएन र उनीहरूमाथि शोषण गरिएको थियो । मार्क्स चाहन्थे मान्छेको जिन्दगीमाथि उसकै अधिकार होओस, मान्छेको जीवन अरू कुराभन्दा सर्वोपरी होओस्, उनी चाहन्थे मान्छेहरू स्वतन्त्र होऊन् र मान्छेभित्रको सिर्जनात्मक क्षमताको विकास होओस् ।

साभेज भन्छन्, ‘वास्तवमा माक्र्स भन्छन् हामीले हाम्रो जीवन यसरी जिउनुपर्छ कि जसको मूल्यांकन कामले नगरियोस् । एउटा यस्तो जीवन जसको मालिक हामी आफैँ होऊँ, जहाँ हामी आफैँले यो कुराको निर्धारण गर्न सकौँ कि हामी कसरी जिउन चाहन्छौँ । आजकाल यही सोचका साथ मानिसहरू जिउन चाहन्छन् ।’

३. रूचि अनुसारको काम गर्न पाउनुपर्छः आफ्नो मनले भनेको काम गर्दा मान्छेलाई खुसी मिल्छ । तर आफूले चाहे बमोजिमको काम नहुँदा मान्छेले दत्तचित्त भएर गर्न सक्दैन र ऊ निराश हुन्छ । यी कुराहरू अरूले नभइ स्वयं माक्र्सले भनेका हुन् । सन् १८४४ मा लेखेको आफ्नो पुस्तकमा मार्क्सले काममा पाइने सन्तुष्टिलाई मान्छेको भलाइसँग जोडेर हेरेका थिए । तत्कालीन समयमा यस्तो कुरा गर्ने उनी पहिलो व्यक्ति थिए । उनको तर्क थियो हामी आफ्नो अधिकांश समय काममा खर्चिन्छौँ । अतः यो आवश्यक छ कि आफ्नो कामबाट हामीलाई खुसी मिलोस् ।

४. भेदभावको विरोध गर्नुपर्छः यदि समाजमा कोही खराब छ, यदि तपाईंलाई लागेको छ कि कसैप्रति अन्याय, भेदभाव वा गलत भइरहेको छ भने तपाईं त्यसको विरोध गर्नुस् । तपाईं संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस् । संगठित विरोधका कारण कैयौँ देशको दिशा बदलिएको छ । विभिन्न प्रकारका भेदभावविरूद्ध कानून बनोस् ।

लन्डनमा हुने माक्र्सवादी कार्यक्रमका आयोजकमध्येका एक लुइस निल्सनले भनेका थिए, ‘समाजलाई बदल्न क्रान्ति आवश्यक हुन्छ । हामी समाजको राम्रोका लागि विरोध प्रदर्शन गर्छौं । यसरी सर्वसाधारणले आठ घण्टा काम गर्ने अधिकार पाएका हुन् ।’

मार्क्सको व्याख्या एक दार्शनिकको रूपमा गरिन्छ । तर, निल्सन यो कुरासँग असहमत छन् । उनी भन्छन, ‘उनले जे लेखे र गरे त्यो एउटा दर्शन जस्तो लाग्छ । तर, जब तपाईं उनको जीवन र कामलाई नजिकबाट नियाल्नुहुन्छ तब तपाईं महसुस गर्नुहुन्छ कि उनी एक अभियानकर्मी थिए । उनले अन्तर्राष्ट्रिय कामदार संघको स्थापना गरे । उनी गरिबहरूसँगै हड्तालमा सहभागी भए ।’

‘महिलालाई मतदानको अधिकार कसरी प्राप्त भयो ? यो अधिकार संसद्का कारण नभइ महिलाहरू संगठित भएर विरोधमा उत्रिएकाले पाए । काम गर्नेहरूले साप्ताहिक बिदा कसरी पाए ? मजदुरहरू संगठित भएर हड्तालमा उत्रिएकाले पाए ।’

५. सञ्चारमाध्यममाथि निगरानी राख्नुपर्छः सरकार र ठूला व्यापारिक घरानाले साठगाँठ गरे तपाईंलाई कस्तो लाग्ला ? व्यापारिक प्रतिष्ठानले तपाईंका सबै जानकारी सरकारलाई उपलब्ध गराइदिए के तपाईंआफूलाई सुरक्षित महसुस गर्नुहुन्छ ? १९ औँ शताब्दीमै माक्र्सले यस्तो महसुस गरेका थिए । हुन त त्यो वेला सामाजिक सञ्जालहरू थिएन, तथापि माक्र्स पहिलो व्यक्ति थिए जसले त्यस्तो साठगाँठको व्याख्या गरेका थिए ।

ब्वेनस आइरिज विश्वविद्यालयका प्राध्यापक भालेरिया वेघ वाइस भन्छन, ‘माक्र्सले त्यतिबेलै सरकार, बैंक, व्यापार र उपनिवेशीकरणका प्रमुख एजेन्टहरूबीचको साठगाँठबारे अध्ययन गरेका थिए ।’ उनी थप्छन, ‘मार्क्सले सञ्चारमाध्यमको शक्ति बुझेका थिए । मानिसहरूको सोचाइ प्रभावित गर्नका लागि सञ्चारमाध्यम उपयुक्त माध्यम थिए । आजकल हामी झुटा समाचारका कुरा गर्छौँ । तर, माक्र्सले उहिल्यै यस्तो कुरा बताइसकेका थिए ।’

मार्क्सले त्यतिवेला प्रकाशित हुने गरेका लेखहरूको अध्ययन गर्दथे । उनी यो निष्कर्षमा पुगेका थिए कि गरिब र निमुखाहरूबाट हुने साना अपराधलाई सञ्चारमाध्यमले ठूलो स्थान दिएर प्रचार गर्छ जबकि नेता र उच्च स्थानमा बस्नेहरूबाट भएका ठूला अपराधको घटनालाई दबाउँछन् । यसका पछि ती स्थानमा ठूला र पहुँचवालको लगानी गर्ने भएकाले हुने उनको तर्क थियो । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया