३ वर्षमा ११ अर्व

काठमाडौं । नेपालमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी कति होला ? यसले वार्षिक कति रकम कमाउँछ ? कुन स्रोतबाट कमाउँछ ? र कति बचत हुन्छ ? यसको जवाफ सजिलै भेटिँदैन ।

२१ घण्टासम्म व्यस्त हुने विमानस्थलका आम्दानीका विषयमा पछिल्लोपटक चर्चामा आउन थालेको छ । विभिन्न विमान कम्पनीले यसको रकम नतिरेको र अनियमितता भएको घटनाले आम्दानी असर पर्न थालेका कुराहरू पनि बाहिर आएका छन् ।

सामान्यतया विमानस्थलले दुईटा मुख्य स्रोतबाट राजस्व संकलन गर्दछ । एरोन्युटिकल (उडान), ननएरोन्युटिकल (गैरउडान) मार्फत राजस्व संकलन गर्छ । यसको लगानी पनि विमानस्थलकै विकास तथा प्रवद्र्धनका लागि खर्च गर्ने गरिन्छ । अन्र्तराष्ट्रिय क्षेत्रमा हेर्ने हो भने ४० प्रतिशत राजस्व संकलन कमर्सियल क्षेत्रबाट हुन्छ भने बाँकी अन्य क्रियाकलापबाट ।

त्यस्तै, नेपालका विमानस्थलले पनि कमर्सियल क्षेत्रबाट राजस्व संकलन गर्दछन् । उडानअन्तर्गत विमान पार्किङ्ग, ल्याण्डिङ्ग, सुरक्षा सेवा, रुट सेवा, ध्वनी तथा वातावरण व्यवस्थापनबाट राजस्व संकलन हुन्छ । गैरउडान अन्र्तगत गाडि पार्किङ्ग, विज्ञापन, भिडियो सुटिङ्ग, कार्गो, रेष्टुरेन्ट, बैँक, टेलिफोनलगायत क्षेत्रबाट राजस्व संकलन हुन्छ ।

‘त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कर्पोरेसन विभाग’ का अनुसार उडान तथा गैरउडानबाट त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलले तीन वर्षमा ११ अर्व भन्दा बढि राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७२÷७३ र २०७४÷७५ पुस मसान्त सम्ममा ११ अर्व ६६ करोड २४ लाख २७ हजार आम्दानी गर्न सफल भएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उडान तथा गैरउडानबाट अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष राम्रो आम्दानी गरेको छ । २०७५ पुस अन्त्य सम्ममा जम्मा ३ अर्व ७३ करोड ६६ लाख भन्दा बढि रकम संकलन भएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा भुकम्पका कारण विमानस्थलको आम्दानी समेत ओरालो लागेको थियो । त्यसवर्ष जम्मा १ अर्व १८ करोड ८७ लाख भन्दा बढि रकम मात्र संकलन गरेको थियो भने आर्थिक वर्ष २०७३÷७४ मा केहि हदसम्म अवस्था सुध्रिएकोले विमानस्थलले १ अर्व ३५ करोड ५३ लाख भन्दा बढि आम्दानी गरेको थियो । यसको पछिल्लो वर्ष अर्थात ् २०७५ पुस मसान्त सम्म ४५ करोड, ५२ लाख भन्दा बढि आम्दानी भएको तथ्यांकमा उल्लेख छ ।

ह्याप्पी बेबी जोन

विमानस्थलमा पहिलोपटक ‘ह्याप्पी बेबी जोन’ तथा ‘लस्ट एण्ड फाउण्ड युनिट’ को स्थापना गरिएको छ । सुत्केरी आमा र बच्चालाई ध्यानमा राख्दै विमानस्थलले सुविधायुक्त बेबी जोनको स्थापना गरेको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय उडानका लागि जहाजको पर्खाइमा रहेका बेला बच्चालाई राख्न र दूध खुवाउनका लागि समस्या नहोस् भन्ने उद्देश्यका साथ विमानस्थलभित्रै बेबी जोन सञ्चालनमा ल्याइएको उल्लेख गरे । यो कक्षमा जहाज पर्खाइमा रहेका बेला बच्चालाई सुताउन र सुत्केरी आमाहरुलाई आराम गर्न प्रयोग गर्न सकिनेछ ।

बेबी जोनभित्र बच्चालाई राख्न, सुताउन र खेलाउनका लागि विशेष ठाउँ बनाइएको छ । विमानस्थलमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको बेबी जोन हिमालय हर्बलको सहयोगमा स्थापना भएको हो । यस्तै, विमानस्थलमा हराएका सामग्री खोज्न र भेटिएको सामग्री राख्न लस्ट एण्ड फाउण्ड युनिट खडा गरिएको छ ।

महाप्रबन्धक क्षेत्रीका अनुसार यात्रुले छाडेका सामग्रीलाई सो युनिटले सम्बन्धित व्यक्तिलाई खबर गर्ने र हराएका सामग्री खोज्न सहयोग गर्ने उद्देश्यले लस्ट एण्ड फाउण्ड युनिट बनाएको हो । भेटिएका सामग्री तत्कालै विमानस्थलको वेबसाइटमा राखिने र टेलिफोनमा जानकारी गराइनेछ ।

कुनै यात्रुको सामग्री हराएमा उजुरीको आधारमा सिसी क्यामेरामा हेरेर खोजतलास गरिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित २९ वटा वायुसेवा प्रदायक कम्पनीले विभिन्न २३ वटा गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया