कार्यकर्ता पोस्न विधेयक – देउवा

सिन्धुली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय व्यवस्थालाई कुल्चेर सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पास गरेको आरोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालका प्रा.डा गोविन्द केसी अनसनरत रहेकै बेलामा मरे मर, बाँचे बाँच भनेर विधेयक पास गर्नु स्वास्थ्य माथिको खेलबाड भएको सभापति देउवाको भनाई छ ।

सिन्धुलीमा आयोजित कार्यक्रममा उनले संसदमा प्रतिपक्षीले वेल घेरेको अवस्थामा जवजस्ती गरेको भन्दै वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भएको बताए । सभापति देउवाले अधिकांश समय चिकित्सा शिक्षा विधेयक जबजस्ती गरेको भन्दै सरकारको विरोध जनाएका थिए ।

आफ्ना पार्टीका कार्यकर्ता पोस्नका लागि सरकारले चिकित्सा शिक्षा विधेयक ल्याएको सभापति देउवाको आरोप छ । आफूले गरेको सम्झौतालाई वर्तमान प्रधानमन्त्री केपी ओलीले लत्याएको भन्दै सरकारले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ नगरेको सभापति देउवाले बताए ।

डा. केसीको जायज माग पूरा गराउन कांग्रेस प्रयासरत रहेको भन्दै उनले गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाका नाममा रहेको अस्पताललाई प्रदेश मातहतमा नझार्न चेतावनी दिए । वर्तमान सरकार अपराधीलाई जोगाउन लागेको उनको आरोप थियो । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकाको प्रसंग कोट्याउदै सभापति देउवाले प्रमाण नष्ट गर्न लुगा पखाल्ने र हत्यारालाई उन्मुक्ति दिन सरकार लागि परेको उल्लेख गरे ।

कम्युनिष्ट सरकारलाई हटाउन तागत कांग्रेसमा रहेको सभापति देउवाले तर्क थियो । कार्यक्रममा कांग्रेस महामन्त्री शसांक कोइरालाले अबको ४ वर्षपछि हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरे ।

प्रतिक्रिया