असाहयका लागि च्यारिटी

काठमाडौं । अस्ट्रेलिया बस्दै आएकी बालगायिका आयुष्का खनियाँको एकल गायनबाट उठेको रकम असाहयका लागि सहयोग गरिएको छ । आर्टकेयर फाइनआर्ट इन्स्टिच्युटको आयोजनामा १३ वर्षीया गायिकाको नेपालमै पहिलो एकल कार्यक्रम गरिएको हो । कार्यक्रममा आयुष्काले आफ्ना र अरूको गरी ६ वटा गीत प्रस्तुत गरेकी थिइन् । आर्टकेयरको संयोजनमा गरिएको कार्यक्रमबाट उठेको रकम एकान्तकुनास्थित स्नेही काख नामक संस्थालाई हस्तान्तरण गरियो । सहयोग रकम हस्तान्तरण गर्दै गायिका खनियाँले मानिसको दुःखमा मल्हम लगाउनु मानिसकै कर्तव्य भएको बताइन् । सामाजिक सेवामा आफूले कलामार्फत योगदान दिन पाएकोमा उनले खुसी व्यक्त गरिन् ।

सानैदेखि गीत संगीतमा रुचि भएकी आयुष्माले अस्टे«लियामा पनि नेपालीले आयोजना गर्ने विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै आएकी छन् । उनले यसअघि नेपालमा भूकम्प आउँदा पनि अस्ट्रेलियामै कार्यक्रम गरेर सहयोग जुटाएकी थिइन् । कार्यक्रमबाट उठेको २० हजार रुपैयाँ हस्तान्त्रण गरिएको थियो ।

खनियाँको गायिकामार्फत नेपालमा समाजसेवाको क्षेत्रमा केही योगदान दिने भावनाले कार्यक्रमको आयोजना गरिएको आर्टकेयरकी कोर्डिनेटर ज्योति खडकाले जानकारी दिइन् । उनले भनिन्, ‘समाजसेवाको क्षेत्रमा कलाकार तथा स्रष्टालाई जोडेर आर्टकेयरले आगामी दिनमा समे नियमित कार्यक्रम गर्दै जानेछ ।’ चित्र मूर्तिसम्बन्धी विभिन्न कार्यक्रम गरी कलाक्षेत्रमा आउन चाहनेका लागि वातावरण सहज बनाउने प्रतिबद्धता आर्टकेयरका अध्यक्ष शिवपसाद न्यौपानेले जनाए ।

प्रतिक्रिया