सिद्धार्थमा सुमनका मिथिला कला

काठमाडौं । कलाकार एससी सुमनका मिथिला कलाको प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । ‘मिथिला कसमस सङ्स अफ इन्नोसेन्स एण्ड एक्पिरिएन्स’ शीर्षकमा भएको प्रदर्शनीमा सुमनले नेपालको सामाजिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा ऐतिहासिक विषयमा बनाइएका मिथिला शैलीका कलाकृति राखेका छन् ।

नेपाली कलामा मिथिला कलाको विशिष्ट महत्व स्थान रहँदै आएको छ । मौलिक तथा सामाजिक विषयवस्तुले नै यसको ऐतिहासिकतालाई विश्वमाझ परिचित बनाउन सकेको हो । प्रदर्शनीको उद्घाटन बुधवारदेखि सुरु भएको उक्त फेब्रुअरी २० सम्म रहनेछ । हाल विराटनगर बस्ने सुमनको जन्म सन् १९६१ मा सिरहामा भएको हो । कलाकार सुमनको यो प्रदर्शनी १६औँ एकल प्रदर्शनी हो ।


प्रदर्शनीका लागि तयार पारिएका कलाकृतिको विषयवस्तु चारदशकदेखि कलाकार सुमनले भोगेका विषयसमेत कलाका मुख्य थिमका रुपमा रहेका छन् । कलाकार सुमनले पहिलोपटक राजधानी प्रवेश (भ्रमण) तथा राजधानीमा बसेको २०७१ सालदेखि हालसम्मको निरन्तर बसाइमा भोगेका विषयलाई आफ्नो चित्रको माध्यमबाट जनसमक्ष ल्याएका हुन् । उनले मिथिला कस्मस शृंखलामा निरन्तर कला रचना तथा प्रदर्शनी गर्दै आएका छन् । जसमा सामाजिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय विषयवस्तुलाई परम्परागत मिथिला कला शैलीमा पृथक ढङ्गले प्रस्तुत गरिएको पाइन्छ ।

प्रदर्शनीमा राखिएका कलामा पहिलेको पशुपति, कीर्तिपुर तथा अहिलेको पशुपति, कीर्तिपुर, गुहेश्वरी, विष्णुमति घाट, आर्यघाटको सेरोफेरो, स्वयम्भुको सेरोफेरो लगायत छन् । उनका कलामा रङको मार्धुयता, विषयको सरलीकरण, विविधतामा एकता खोज्ने विषय प्रबल रुपमा देखापरेको पाइन्छ । त्यस्तै, लटपटुवा सुगा, गौतम बुद्ध, सामूहिक बसोबास, निजगढको जङ्गलमा हात्ती तथा हवाइजहाज जस्ता शीर्षकका चित्रहरु प्रदर्शनीमा राखिने छ ।

जसमा एक्रेलिक माध्यम, प्राकृतिक रङ्ग, मिक्स मिडिया माध्यमबाट नेपाली लोक्ता कागज तथा आर्ट पेपर प्रयोग गरिएको छ । कलाकारको यस पटकको प्रदर्शनीमा उनका चित्रहरु नयाँ ढङ्गबाट प्रस्तुत गरिएको कलाकार सुमनले बताएका छन् । नेपाली मिथिला कलामा नेपालका मौलिक विषयलाई समेटेर कलाकार सुमनले चित्र बनाउँदै आएका छन् । उनले बनाएका चित्रमा भूकम्प, त्यसको पीडा, मधेसको मात्रै नभएर पहाडी समुदायका विविध परिवेशलाई कलाकार सुमनले चित्रमा उतार्दै आएका छन् ।

प्रतिक्रिया