ट्रम्पद्वारा विद्रोही नेतालाई नै राष्ट्रपतिको मान्यता

वासिंगटन । अमेरिका लगायतका केही राष्ट्रले सडक आन्दोलन गरिरहेका भेनेजुएलाका विद्रोही नेतालाई नै राष्ट्रपतिको मान्यता दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता हुवान गुएइदोलाई आफूले अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिने ट्विटर मार्फत जनाएका छन् ।

३५ वर्षीय गुएइदोले बुधबार एक बृहत् सडक आन्दोलनका क्रममा आफँैलाई राष्ट्रपति घोषणा गरेका थिए । राजधानी काराकासमा आफूलाई भेनेजुएलाको ‘निमित्त नेता’ घोषणा गरेलगत्तै ट्रम्पले उनलाई समर्थन गरेका हुन् ।

तर, राष्ट्रपति निकोलस मडुरोले पछिल्लो घटनाक्रमपछि अमेरिकी कदमको कडा आलोचना गरेका छन्। उनले अमेरिकासितको कूटनीतिक सम्बन्ध तोडिदिने चेतावनी दिँदै त्यो देशका कूटनीतिज्ञहरूलाई २४ घन्टाभित्र भेनेजुएला छोड्न आदेशसमेत दिएका छन् ।

यसै महिनाको सुरुमा दोस्रो कार्यकालको लागि पदमा गएका मडुरो देशको अर्थतन्त्र ध्वस्त बनाउन कारक रहेको भन्दै आलोचित छन् । त्यसैगरी उनलाई चुनावमा धाँधली गरेको समेत आरोप लगाइएको छ । विपक्षीहरूको आन्दोलन यही विषयलाई लिएर चर्किदै गइरहेकै वेलामा विद्रोही नेताले आफैँलाई राष्ट्रपति घोषण गरेका हुन् ।

दक्षिण अमेरिकाका अन्य देशहरू, ब्राजिल, कोलम्बिया र पेरुले पनि गुएइदोलाई भेनेजुएलाको वैध राष्ट्रपतिको मान्यता दिएका छन् । मडुरोको कार्यकालमा भेनेजुएलाको अर्थतन्त्र धरासायी भएपछि यो तनाव सिर्जना भएको हो । भेनेजुएलाका सेनाले भने अहिलेकै राष्ट्रपतिप्रति बफादारी देखाइरहेको छ । भेनेजुएलाभरि लाखौँ मानिसहरूले प्रदर्शन चर्काएपछि राष्ट्रिय सभाका प्रमुख हुवान गुएइदोले आफूलाई निमित्त राष्ट्रपति घोषणा गरेका हुन् ।

भेनेजुएलामा चर्किएका पछिल्ला प्रदर्शनहरूको क्रममा आठ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया