मातृभाषाबाट अध्यापन गराइँदै

काभ्रे । पढाइमा सिकाइलाई प्रभावकारी बनाउनका लागि मातृभाषामा पढाइने भएको छ । काभ्रेको तेमाल गाउँपालिकामा तामाङ भाषीको अत्यधिक बाहुल्यता भएकाले यहाँका विद्यार्थीहरूलाई तामाङ भाषामा पढाइने भएको छ ।

यहाँका तीन वटा विद्यालयमा शैक्षिक सत्र ०७६ देखि मातृभाषा (तामाङ) मा पठनपाठन गराउने तयारी गरिएको छ । भाषा आयोग, भिएसओ नेपाल र तेमाल गाउँपालिकाको सहकार्य र समन्वयमा तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । विशेष गरी कक्षा १ देखि ३ कक्षासम्म तामाङ समुदायका विद्यार्थीहरूलाई मातृभाषाको माध्यमबाट शिक्षा प्रदान गर्ने बताइएको छ ।

‘सिकाइ उपलब्धि अभिवृद्धिका लागि मातृभाषामा शिक्षा’ कार्यक्रम आयोजना गरिएको बहुभाषिक शिक्षा परामर्श कार्यक्रममा भाषा आयोगका सचिव लोकबहादुर लोप्चानले बताएका छन् । तेमाल गाउँपालिका–२ मा रहेको बालकल्याण आधारभूत विद्यालय, वडा–५ मा रहेको नारायणस्थान मावि र वडा–८ मा रहेको सेतीदेवी माविमा मातृभाषामा शिक्षा कार्यक्रमका लागि परामर्शसमेत सकिसकेको जनाइएको छ ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श गरेर नै सो कार्यक्रम लागू गर्न लागिएको बताइएको छ ।

भाषा आयोगका सचिव लालजंग चौहान, भाषाविद् अमृत योञ्जन, भाषा आयोगका उपसविच लोकबहादुर लोप्चन, पाठ्यक्रम विकास केन्द्रका निर्देशक धनबहादुर श्रेष्ठ लगायतकाको उपस्थितमा कक्षा सञ्चालनबारे छलफल चलाइएको थियो । मातृभाषाको पाठ्यपुस्तक कस्तो बनाउने र के के सामग्री समावेश गर्ने भन्ने विषय पनि छलफलले टुंगो लगाइसकेको बताइएको छ । अधिकांश प्रायः तामाङ समुदाय रहेको वस्तीका विद्यालयहरूमा सो कार्यक्रम विस्तारित हुने गाउँपालिकाले जनाइएको छ ।

अभिभावकहरूको भनाइमा घरकै भाषामा पठनपाठन गराउनसके विद्यार्थीहरूमा पढाइप्रति थप रुची बढ्ने र पढाइमा उनीहरूको लगाव राम्रो हुनसक्ने विश्वास लिएको बताएका छन् ।

प्रतिक्रिया