कोदोे खेती गर्न अनुदानमा उपकरण

पोखरा । कृषि पेसाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको छ । चालु आर्थिक वर्ष ०७५÷७६ मा सो गाउँपालिकाका ११ वटै वडामा कोदो चुट्ने उपकरण प्रदान गर्ने लक्ष्यका साथ रु १० लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । उपकरणको कुल लागतमध्ये ५० प्रतिशत गाउँपालिकाले उपलब्ध गराउने छ ।

पहिलो चरणमा वडा ४, ९ र १० मा तीन उपकरण प्रदान गरिएको छ । ‘एउटा उपकरण खरिद गर्न करिब रु ६० हजार लाग्छ,’ अध्यक्ष कुँवरले भने, ‘संस्थागत एवं व्यक्तिगतरूपमा गाउँपालिकाले कृषि शाखामार्फत अनुदानमा उपकरण लैजान सक्नेछन् ।’ केही वर्ष अघिसम्म कोदोलाई गरिबले खाने अन्नका रूपमा लिने गरिएकामा अहिले यो हुनेखानेको रोजाइमा पर्ने गरेको छ । कोदो खेतीको प्रवद्र्धन गर्न तथा यसको महत्वबारे जानकारी दिन अन्नपूर्ण गाउँपालिकाको सहयोगमा वडा ४ स्थित भदौरे देउरालीमा यस वर्ष ल्होसारका अवसरमा कोदो महोत्सव गरिएको थियो । महोत्सव अवलोकनकर्तालाई स्थानीयवासीले कोदोको सेलरोटी, सुक्खारोटी, मःमः लगायतका २५ परिकार बनाएर खुवाएका थिए ।

उक्त महोत्सवमा कोदोको खोले, दाम्ले मिठाई, शंखे चक्लेट, ढिँडो, जेरी, पुरी, नमकिन, पकौडा, केकलगायत स्वाद लिने व्यवस्था गरिएको थियो । ‘महोत्सवले कोदोप्रतिको धारणा परिवर्तन गरी खेतीप्रति आकर्षण बढाएको छ,’ स्थानीयवासी आशबहादुर गुरुङले भने । कास्कीमा कोदोका प्रजातिसमेत लोप हुँदै गएका छन् । विगतमा यहाँ दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता प्रजाति पाउने गरे पनि अहिले ती लोप हुँदै गएका छन् । पछिल्लो समय कोदो लगाउने ठाउँमा कृषकले घैया प्रजातिका साथै पाखे धान लगाउने क्रम बढेको छ ।

प्रतिक्रिया