सुदूरपश्चिममा बढ्दैं कुपोषण

धनगढी । सुदूरपश्चिमसहित देशभर कुपोषण बढ्दै गएको एक तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार कुपोषणका कारण सुदूरपश्चिमका ३५ दशमलव ९ प्रतिशत नागरिकमा पुड्कोपना छ भने ४९ दशमलव ८ प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पताको समस्या छ । सुदूरपश्चिमका ३९ दशमलव ३ प्रतिशत महिलामा रक्तअल्पता छ । २८ दशमलव १ प्रतिशत सुदूरपश्चिमेली कम तौलका छन् भने ७ दशमलव ७ प्रतिशत बढी तौलको समस्या छ । ९ दशमलव ३ प्रतिशत बालबालिकामा ख्याउटेपना छ भने १ दशमलव २ प्रतिशतमा मोटोपन छ ।

पोषणका लागि नागरिक समाज सञ्जाल, नेपाल (सिसान) ले धनगढीमा सञ्चार माध्यमहरूलाई बहुक्षेत्रीय पोषण योजनासम्बन्धी अभिमुखीकरण आयोजना गरी सो तथ्यांक प्रस्तुत गरेको हो । नेपाल जनसांखिकी सर्वेक्षण २०१६ ले ३६ प्रतिशत नेपालीमा दीर्घ कुपोषण तथा पुड्कोपना रहेको देखाएको छ । १० प्रतिशत ख्याउटेपन र २७ प्रतिशत कम तौलको कारण नेपाली पीडित छन् ।

नेपाल स्वास्थ्य सर्वेक्षण २०११ र २०१६ ले नेपाली महिलाहरूमा रक्तअल्पताको दर बढिरहेको देखाएको छ । सिसानका अनुसार हाल ४६ प्रतिशत नेपाली महिलामा रक्तअल्पताको समस्या छ । यो दर २०१६ मा ४१ र २०११ मा ३५ प्रतिशत थियो ।

नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार २५ प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेकाले कुपोषणको सिकार भइरहेको सिसानले जनाएको छ । सिसानका कार्यक्रम व्यवस्थापन अधिकृत हरिगेन्द्र सिंहले गरिबी, खानपानको तरिका, जंकफुड लगायतका कारणले कुपोषण बढिरहेको बताए ।

प्रतिक्रिया