मर्यादापालको गुनासोमा सभामुखो चासो

बुटवल । प्रदेश–५ प्रदेशसभामा खटिएका मर्यादापालक सेवासुविधाबाट वञ्चित भएको समाचार सार्वजनिक भएसँगै सभामुख र उपसभामुखले यसबारे चासो देखाएका छन् ।

प्रदेशसभा बैठकमा सुरक्षार्थ खटिएका मर्यादापालक भुइँमै सुत्ने गरेको र साँघुरो कोठामा डे«स चेन्ज गर्नुपर्ने बाध्यता रहेको समाचार मंगलबार सौर्य राष्ट्रिय दैनिकमा प्रसारण भएपछि मर्यादापालकको गुनासोबारे सभामुख र उपसभामुख सहितको टोलीले चासो दिएका हुन् ।

प्रदेशसभा सचिबालयमा मर्यादापालकको विषयसम्बन्धी छलफलसमेत गरिएको हो । सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारू, कानुनमन्त्री कुलप्रसाद केसी, सचिव दुर्लभ कुमार पुन सहितको टोलीले छलफल गरेको हो । त्यस्तै छलफलमा नेकपाका सचेतक दधिराम शर्मासमेत सहभागी थिए ।

केही मिनेट मात्र छलफलमा बसेका उनी छलफल नटुंगिँदै संसद् सचिबालयबाट बाहिरिएका थिए । गोप्य रूपमा गरिएको छलफलमा मर्यादापालकका लागि सचिवालय निर्माण गर्ने र आवश्यक स्थानको पहिचान गरी मर्यादापालकलाई व्यवस्थित बनाइने छलफलमा कुरा भएको स्रोतले बताएको छ ।

मर्यादापालकले सञ्चारकर्मीसामु गुनासो राखे लगत्तै मुख्य मर्यादापालकलाई सचिव दुर्लभकुमार पुनले मिडियामा जथाभावी नबोल्न भन्दै हप्काएका थिए । त्यस लगत्तै गुनासो राख्ने मर्यादापालकले समेत स्रोतलाई गोप्य राख्न भन्दै सम्पर्क गरेका थिए । यता आन्तारिक छलफलमा सहभागी सभामुख पूर्णबहादुर घर्तीले भने छलफलको विषयलाई बताउन चाहेनन् ।

प्रतिक्रिया